तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका-१ गैह्राखुदीस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा रु एक करोड २० लाखको लाखतमा उक्त भवन निर्माण गर्न लागिएको हो ।
आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत शौचालय सुविधासहितको छ तले विद्यालय भवन निर्माणका लागि हालै निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
दमौलीस्थित बेलु निर्माण सेवासँग मूल्य अभिवृद्धि कर सहित रु एक करोड २० लाख ६८ हजार ७२३ को लागतमा सम्झौता भएको छ । उक्त भवन १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने अवधि तोकिएको छ ।
नयाँ विद्यालय भवन नेपाल सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मानक डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिने भण्डारीले बताउनुभयो । जसले विद्यार्थीहरुका लागि सुरक्षित, विपद् प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्नेछ ।
भण्डारीले भन्नुभयो, “भवन निर्माण सम्पन्न भएपछि आयोजना प्रभावित समुदायका विद्यार्थीका लागि थप व्यवस्थित तथा गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध हुनेछ । यसबाट अनुकूल सिकाइ वातावरण सिर्जना हुनुका साथै आसपासका समुदायको दीर्घकालिन शैक्षिक तथा सामाजिक आर्थिक विकासमा समेत योगदान पुग्नेछ ।”
आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । हालसम्म ९८ वटा योजनाहरु सम्पन्न भइसकेको र छ वटा योजना सञ्चालनमा रहेको भण्डारीले जानकारी दिनुभयो ।
भीमाद नगरपालिका-५ स्थित फेदीखोला मोटरेवल पुल निर्माण, ऋषिङ गाउँपालिका-७ स्थित डाँडीवन चुलेसी पहुँच मार्ग, भिमाद नगरपालिका-५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण, ऋषिङ गाउँपालिका-१ स्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण, भिमाद नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणको काम जारी छ । रासस









