२३ भाद्र २०८३, मंगलवार
,
Latest
हङ्गेरीद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश ‘शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ’ रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा



अ+ अ-

काठमाडौं नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी अधिवेशन प्रक्रिया अघि बढाउने जनाएको हो।

नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ। स्थानीय अनुकूलताअनुसार यी दुईमध्ये उपयुक्त दिनमा वडा अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। देशभरका ६ हजार ७४३ वडामा वडा कार्यसमितिको निर्वाचनसँगै क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

त्यसपछि गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका तय गरिएको छ।

कांग्रेसले जिल्ला र प्रदेश अधिवेशनको विस्तृत समयतालिका भने दोस्रो चरणमा सार्वजनिक गर्ने जनाएको छ। यस्तै, नेपाली जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ।

यसअघि कांग्रेसले विभिन्न तहको अधिवेशनका लागि फरक कार्यतालिका सार्वजनिक गरेको थियो। तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षति र त्यसबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै कार्यतालिका पुनः परिमार्जन गरिएको हो।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तोकिएका निर्वाचन अधिकृतले सम्बन्धित पार्टीको स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर अधिवेशनको पहिलो चरणको समयतालिका सार्वजनिक गरिएको उल्लेख छ।

समितिले प्रकाशित निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ।