१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य राजमार्ग जोखिममा



अ+ अ-

डडेल्धुरा । धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्ग जोखिममा रहेका छन् । स्थानीय तहले सार्वजनिक सडक ऐन २०३१ विपरित जथाभावी रुपमा राष्ट्रिय राजमार्गसंग जोड्ने गरी शाखा सडक निर्माण गर्दा राजमार्ग क्षतिग्रस्त भएका हुन् ।

डडेल्धुरा जिल्लामा बुढर जोगवुढा, उग्रतारा मेलौली, पोखरा बेलापुर, बागबजार बगरकोट सडकलाई मुख्य सडकका रुपमा लिएको भए पनि हाल आउँदा ती सडकबाट पनि विभिन्न ग्रामीण क्षेत्रमा जाने शाखा सडकको निर्माणले गर्दा मुख्यसडक जोखिममा परेको प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ ।

मापदण्डविपरीत बनाइएका शाखा सडकका कारण राष्ट्रिय राजमार्गको नालीमा अवरोध हुने, सडक अवरोध हुने, सडक बिग्रने गरी पहिरो आउने, सडकको कालोपत्र उप्किदा खाल्टाखुल्टी पर्ने लगायतको समस्या देखिएको छ । सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउनुपर्ने सडक डिभिजन कार्यालय कुलपाते डोटीका निमित्त प्रमुख वलीराज मल्लले बताए ।

प्रमुख सडकबाट शाखा सडक निर्माण गर्दा सहमति लिई मापदण्ड पुगाएर सडक निर्माण गर्नुपर्ने भए पनि स्थानीय तहले अटेर गरेर शाखा सडक निर्माण गर्ने गरिरहेको उनले बताए । शाखा सडक निर्माणले सडक क्षतिग्रस्त हुँदा यातायात सञ्चालनका लागि समस्या हुने गरेको चालकहरु बताउँछन् ।