काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले १० भदौको भोटेकोशी बाढीमा परि टनेलमा फसेका नागरिकको उद्धारमा कठिनाई भइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उहाँले टनेल भित्रसम्मै बाढी पसेको कारण टनेल खुलाउन समस्या भइरहेको बताउनुभएको हो ।
उहाँले जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको बताउनु भयो । उहाँले बाढीबाट सडक तथा पुलमा व्यापक क्षति पुगेको समेत बताउनु भयो ।
उहाँले बाढीका कारण गल्छी–बेत्रावती, रसुवागढी सडक तथा पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा ठूलो क्षति पुगेको बताउनु भयो ।
विदुर–बेत्रावती–मैलुङ खण्डको ४० किलोमिटर सडक पूर्णरूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो ।
उहाँले बाढीबाट ४८ वटा झोलुंगे पुलमा क्षति पुगेकोमा २० वटा मर्मत गर्न सकिने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले बाढी प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेका उल्लेख गर्दै तीमध्ये दुई स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया शुरु गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ । बाढीका कारण गल्छी बेत्रावती, रसुवागढी, सडक र पृथ्वी राजमार्गको गल्छी–मुग्लिन खण्डको अधिकांश भाग क्षति भएको छ । विदुर–बेत्रावती–मैलुङखण्डको ४० किलोमिटर पूर्ण रुपमा र १६ किलोमिटर आंशिक क्षति भएको थियो । पृथ्वी राजमार्गको कृष्णभीर लगायतका क्षेत्रमा क्षति पुगेको छ । धादिङका अधिकांश सडकमा लेदो हटाइ सञ्चालन भइरहेको छ । बाढीका कारण ४८ वकटा झोलुंगे पुलमा क्षति भएको छ । जसमध्ये २० वटा मर्मत गर्न मिल्ने र २८ वटा नयाँ निर्माण गर्नुपर्ने देखिएको छ । प्रभावित क्षेत्रका ३१ वटा मोटरेबल पुल बगेका छन् । तीमध्ये २ स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया शुरु भएको छ ।’
उहाँले सरकार बाढी पीडितको साथमा रहेको बताउँदै खोज, उद्धार र राहत वितरणमा सरकार गम्भीर रहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल








