नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यस्थित कौशाम्बी जिल्लामा रहेको एउटा पटाका कारखानामा सोमवार भएको भीषण विष्फोटमा ११ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशको राजधानी लखनउबाट करिब २०५ किलोमिटर दक्षिणमा अवस्थित मनोरी गाउँमा सो दुर्घटना भएको हो ।
कौशाम्बीका जिल्ला मजिस्ट्रेट अमित पालकाअनुसार घटनास्थलमा हाल उद्धार कार्य जारी रहेको छ । विष्फोटका कारण कारखानाको भवन ध्वस्त भएकाले भग्नावशेषभित्र अझै केही मानिसहरू पुरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
यससँगै मृतकको सङ्ख्या अझै बढ्नसक्ने अधिकारीहरूले बताएका छन् । भारतीय सञ्चारमाध्यम एनडीटीभीले अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार, विष्फोटमा परी १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
विष्फोट यति शक्तिशाली थियो कि यसले कारखानामा पूर्ण रूपमा क्षति पु¥याउनुका साथै नजिकै रहेका अन्य ५ देखि ६ वटा घरहरूमा समेत ठूलो क्षति पुगेको छ ।
यसैगरी, विष्फोटका कारण दिल्ली–हावडा रेल मार्गको आवागमन समेत करिब एक घण्टा अवरुद्ध भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । दुर्घटनाको विस्तृत विवरण र विष्फोटको कारणबारे अनुसन्धान भइरहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल









