काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको राहत सामग्री बोकेको सैन्य कार्गो विमान आइतबार बिहान काठमाडौं आइपुगेको छ।
चीनबाट ल्याइएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
बाढीपीडितका लागि चीनले करिब ५० टन तौल बराबरका १३ हजार २ सय थान राहत सामग्री पठाएको हो। राहत सामग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड, प्राथमिक उपचार किटलगायत सामग्री रहेका छन्।
भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि चीनले उपलब्ध गराएको उक्त सामग्री आवश्यकताअनुसार प्रभावित नागरिकसम्म पुर्याइने बताइएको छ।








