१३ भाद्र २०८३, शनिबार
,
Latest
‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी : शव पहिचानमा समस्या



अ+ अ-

गण्डकी। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ ।

बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ शवमध्ये अहिलेसम्म छ शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको उहाँको भनाइ छ । “पहिचान भएका शव आवश्यक कानुनी प्रकृया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्न सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम गर्छौँ ।”

पहिचान हुन नसकेका शवको डिएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइने प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । प्रतिष्ठानमा ल्याइएकामध्ये नौ शवलाई मणिपाल शिक्षण अस्पतालमा राखिएको उहाँको भनाइ छ । नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका शव पहिचान तथा परीक्षणका लागि बिहीबार पोखरा ल्याइएको थियो ।

शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ । आफन्तहरू तस्बिर हेरेर शव पहिचान गर्ने प्रयासमा छन् । प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले शव खोजीमा आएका आफन्तहरूलाई खाना र बासको व्यवस्था मिलाइएको बताउनुभयो ।

शव पहिचानका लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ । “आफन्तहरू शवको खोजी र पहिचानका लागि ठाउँठाउँबाट आइरहनुभएको छ”, प्रजिअ गुरुङले भन्नुभयो, “बाढीले बगाएर शव विभिन्न जिल्लामा पुर्‍याएका कारण शव पहिचान नै जटिल बन्दै गएको छ ।”

धेरै दिनसम्म पनि शव पहिचान हुन नसकी आफन्तलाई बुझाउन नसकिएमा कानुनी व्यवस्थाअनुसार पोखरामै समाधिस्त गरिने उहाँको भनाइ छ ।

त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको थियो । रासस