काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय सङ्कटपछि सिर्जित अवस्थालाई संयमतापूर्वक व्यवस्थापन गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभएको छ ।
अकल्पनीय विपद्ले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले यस्तो पीडाको सामना गर्दै उद्धार र पुनःस्थापनामा खटिन सबैलाई एकजुट हुन आह्वान गर्नुभयो ।
उद्धारको पर्खाइमा रहनुभएका व्यक्ति तथा परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने, विस्थापित परिवारलाई स्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई भयमुक्त बनाउनेलगायत मानवीय सहयोगमा जुट्न कार्यवाहक प्रमुख डङ्गोलले आग्रह गर्नुभयो ।
सङ्कट व्यवस्थापनमा महानगरपालिका आफ्ना दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र र आमनागरिकलाई एकीकृत रूपमा परिचालन हुन आग्रह गर्नुभयो ।
“यो दुःखलाई केबल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन । हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ, जहाँबाट जसरी सकिन्छ उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु”, डङ्गोलले भन्नुभएको छ ।
बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्दै उहाँले भूगोलले छुट्टिएको भए पनि मानवताको नाताले सबै नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।
कामपा बाढी प्रभावित नागरिकहरूको दुःखबाट उकास्ने कामका लागि प्रतिबद्ध रहेको जनाउँदै उहाँले जीवन बचाउने र आशा जगाउने कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभयो । रासस









