काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटना राजनीतिक विद्रोह भएको बताएका छन् ।उनले निर्दोष थारुहरूमाथि मुद्दा लाग्नु उचित नभएको बताए ।
थरुहट–थारुवान संयुक्त संघर्ष समितिको वार्ता टोलीका सदस्यहरूसँग आइतबार खुमलटारस्थित आफ्नो निवासमा भएको भेटमा उनले टीकापुर घटनाको राजनीतिक समाधान निकाल्नुपर्ने बताए ।
प्रचण्डसँगको भेटमा थरुहटथारुवान संयुक्त संघर्ष समितिले राजनीतिक सहमति गरेर थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम थारु लगायतका थारु नेता, कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता लिन माग गरेको छ ।
टीकापुरमा ७ भदौ ०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्यासम्बन्धी घटनामा २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालत, कैलालीले ०७५ फागुन २२ गते तीनजनालाई निर्दोष सावित गरेको थियो । प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
तीन वर्ष कैद सजायँ सुनाइएका १५ जना रिहा भइसकेका छन् ।