काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवामा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक प्रकोपका रूपमा नहेरी ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले रसुवामा देखिएको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह रहेको बताउनुभयो । प्रारम्भिक अवस्थालाई हेर्दा बाढी हिमताल विष्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–जीएलओएफ) का कारण आएको हुन सक्ने आशंका व्यक्त गर्दै उहाँले घटनाको वास्तविक कारण तत्काल पत्ता लगाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल जलवायु संकट सिर्जना गर्ने मुलुक नभए पनि त्यसको अग्रपंक्तिमा रहेर ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै ओलीले प्रभावकारी जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज बलियो बनाउन सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले जलवायु वित्त, अनुकूलन सहयोग तथा पूर्वसूचना प्रविधिका लागि आवश्यक अन्तर्राष्ट्रिय स्रोत सुनिश्चित गर्नुपर्ने बताउनुभयो । राहत र उद्धारमा मात्र सीमित नभई पूर्वसूचना प्रणालीको सुदृढीकरण, जोखिमयुक्त हिमतालको नियमित अनुगमन तथा जलवायु प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
जोखिममा रहेका बस्तीको पूर्वतयारी तथा आवश्यक परे सुरक्षित स्थानान्तरणका लागि राज्यले ठोस योजना बनाउनुपर्नेमा पनि ओलीले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हिमाली क्षेत्रमा भएको तीव्र तापक्रम वृद्धि र हिमनदीमा देखिएको परिवर्तनले नेपालजस्ता पर्वतीय मुलुकलाई जोखिममा पारेको छ । जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए तापनि यसको मूल्य मानवीय र भौतिक क्षतिका रूपमा हामीले चुकाउनुपर्ने अवस्था न्यायपूर्ण छैन । जाजरकोटका पीडितले अझै राहत नपाएको तीतो अनुभव हामीसँग छ, रसुवामा त्यस्तो नहोस् ।’
प्रमुख सचेतक ओलीले विपद्को यस कठिन घडीमा सम्पूर्ण सदन तथा समाजका सबै वर्गलाई प्रभावित नागरिकको सहयोगमा जुट्न अपिल गर्नुभयो ।
विगतको जाजरकोट भूकम्पका क्रममा राहत वितरणमा देखिएको कमजोरी तथा नेताहरूबीच हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा जाने प्रतिस्पर्धाको प्रसंग उल्लेख गर्दै उहाँले रसुवाका बाढीपीडितले त्यस्तै सास्ती भोग्न नपाउने गरी सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो ।









