काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट भएको क्षति, जारी उद्धार तथा राहत अभियान र आगामी रणनीतिबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्चस्तरीय बैठक आह्वान गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। प्रभावित क्षेत्रको अवस्था हेरेर अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति पठाइएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रससहितका निकायसँग समन्वय भइरहेको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने तयारीसमेत अघि बढाइएको छ।
बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत समेत सुरक्षित स्थानतर्फ जान सचेत गराइएको प्रधानमन्त्रीले बताएका छन्।
सम्भावित उद्धारका लागि सबै हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा रहन जानकारी गराइएको छ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना र उद्धारसम्बन्धी अपडेटको प्रतीक्षा गर्न उनले अनुरोध गरेका छन्।
राहत तथा उद्धारसम्बन्धी थप जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।








