१० भाद्र २०८३, बुधबार
,
Latest
सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा सरकारी धराप



अ+ अ-

काठमाडौं । राजधानी काठमाडौंका सडक तथा सार्वजनिक संरचना निर्माण र मर्मतका नाममा नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । सडक बनाउने, फेरि भत्काउने र लामो समयसम्म पुन:निर्माण नगर्ने सरकारी तथा स्थानीय निकायको प्रवृत्तिले सर्वसाधारणका लागि सडक यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

काठमाडौंको बौद्धद्वार मार्ग यसको पछिल्लो उदाहरण बनेको छ । करिब एक वर्षअघि मात्रै पैदलयात्री हिँड्ने बाटो मर्मत गरिएको उक्त क्षेत्रमा अहिले पुन: संरचना भत्काएर अलपत्र छाडिएको छ । पैदलमार्ग व्यवस्थित नहुँदा पैदलयात्री मात्र होइन, सवारी चालकसमेत जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।

मर्मत गरिएको संरचना छोटो समयमै फेरि भत्काइनु र त्यसपछि लामो समयसम्म निर्माण कार्य अघि नबढाइनुले सरकारी निकायबीच समन्वयको अभाव तथा विकास निर्माणमा देखिएको असंगत कार्यशैलीलाई उजागर गरेको छ । एउटै सडकमा पटक–पटक निर्माण र भत्काउने काम हुँदा राज्यको स्रोतसमेत दोहोरो खर्च भइरहेको छ भने त्यसको प्रत्यक्ष मार सर्वसाधारणले खेपिरहेका छन् ।

बौद्धद्वार मार्गमा पैदलयात्रीका लागि छुट्याइएको बाटो व्यवस्थित नहुँदा मानिसहरू मुख्य सडकबाटै हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । व्यस्त सडकमा पैदलयात्री र सवारी साधन एकै ठाउँबाट आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिका लागि यस्तो अवस्था थप जोखिमपूर्ण बनेको छ ।

गौरीघाट क्षेत्रमा सडक सुरक्षाको अवस्था झनै चिन्ताजनक छ । मुख्य मार्गमै विगत तीन वर्षदेखि ढल खुला रहेको स्थानीयको गुनासो छ । लामो समयसम्म ढल नछोपिँदा पैदलयात्री तथा सवारी चालकका लागि उक्त स्थान ‘धराप’ जस्तै बनेको छ ।

खुला ढलका कारण यस क्षेत्रमा पटक–पटक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । रातिको समयमा सडक तथा ढलको अवस्था स्पष्ट नदेखिँदा जोखिम अझ बढ्ने गरेको छ । वर्षाको समयमा समस्या थप जटिल हुन्छ । पानीले सडक र ढलबीचको भिन्नता छुट्याउन कठिन हुने भएकाले पैदलयात्री तथा दुईपांग्रे सवारी चालक बढी जोखिममा पर्ने गरेका छन् ।

सडकमा पानी जम्दा खुला ढल कहाँ छ भन्ने सहजै पहिचान गर्न नसकिने अवस्था हुन्छ । यस्तो अवस्थामा मोटरसाइकल तथा स्कुटर चालकहरू चिप्लिने, सन्तुलन गुमाउने वा ढलमा खस्ने जोखिममा हुन्छन् । पैदलयात्रीसमेत पानीबाट जोगिन सडकको असुरक्षित भागतर्फ जानुपर्ने बाध्यतामा छन् ।

स्थानीयका अनुसार सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन । सार्वजनिक सडकमा वर्षौंसम्म खुला ढल रहनु र त्यसबाट दुर्घटनाको जोखिम कायम रहनु नागरिकको सुरक्षाप्रति सरकारी निकायको संवेदनशीलतामाथि नै प्रश्न उठाउने विषय बनेको छ ।

विभिन्न क्षेत्रमा आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका काम तीव्र रूपमा अघि बढाउने र बजेट खर्च गर्ने प्रवृत्ति पनि देखिन्छ । तर, बजेट खर्च गर्ने नाममा सडक तथा पैदलमार्ग भत्काउने काम सुरु भए पनि त्यसलाई समयमै सम्पन्न नगर्दा नागरिकले थप समस्या भोग्नुपरेको छ ।

आर्थिक वर्षको अन्त्यतिर हतार–हतार सडक, फुटपाथ तथा अन्य संरचना भत्काउने तर पुन:निर्माणमा ढिलाइ गर्ने प्रवृत्तिले विकासभन्दा अव्यवस्था बढाउने गरेको छ । निर्माण कार्यका लागि आवश्यक समन्वय, वैकल्पिक पैदलमार्ग, सुरक्षा संकेत तथा जोखिम न्यूनीकरणका उपाय अपनाउन नसक्दा निर्माणस्थल सर्वसाधारणका लागि जोखिमको क्षेत्र बन्ने गरेको छ ।

सडक निर्माण तथा मर्मत आफैंमा समस्या होइन । समस्या भनेको एक निकायले बनाएको संरचना अर्को निकायले केही समयमै भत्काउने, भत्काएपछि लामो समयसम्म अलपत्र छाड्ने र त्यसबाट नागरिकले सास्ती खेपिरहने अवस्था हो ।

राजधानीका सडकमा यस्ता उदाहरण थुप्रै छन् । खानेपानी, ढल, विद्युत्, दूरसञ्चार, सडक तथा स्थानीय तहका विभिन्न परियोजनाबीच समन्वय नहुँदा एउटै सडक पटक–पटक खन्ने र पुर्ने गरिएको पाइन्छ । यसले सरकारी खर्च बढाउनुका साथै सडकको गुणस्तरसमेत कमजोर बनाउने गरेको छ ।

।बौद्धद्वार मार्गमा पैदलमार्ग भत्काएर अलपत्र छाडिएको अवस्था होस् वा गौरीघाटमा वर्षौंदेखि खुला रहेको ढल—यी दुवै घटनाले सार्वजनिक पूर्वाधार व्यवस्थापनमा रहेको कमजोरी देखाउँछन् । सडकमा राखिएका खाल्डाखुल्डी, खुला ढल, अधुरो फुटपाथ र सुरक्षा संकेतविहीन निर्माणस्थलले कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

विशेषगरी वर्षाको समयमा यस्ता संरचना झनै जोखिमपूर्ण हुन्छन् । सडकमा पानी जम्दा खाल्डा, खुला ढल तथा निर्माणस्थल पहिचान गर्न कठिन हुन्छ । सवारी चालकले सामान्य गतिमा यात्रा गर्दा पनि अचानक आएको अवरोधका कारण दुर्घटनामा पर्ने सम्भावना बढ्छ ।

सार्वजनिक सडकमा भएको जोखिमका कारण दुर्घटना भएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । नागरिकले सडक प्रयोग गरेबापत कर तथा विभिन्न शुल्क तिर्छन् । त्यसको बदलामा सुरक्षित सार्वजनिक पूर्वाधार पाउनु उनीहरूको अधिकार हो ।

तर, निर्माण तथा मर्मतका क्रममा आवश्यक सुरक्षा व्यवस्था नगर्ने, लामो समयसम्म संरचना अधुरो राख्ने वा वर्षौंदेखि खुला ढल नछोप्ने हो भने सम्बन्धित निकाय जवाफदेही हुनुपर्ने देखिन्छ ।

सडक निर्माणको ठेक्का दिने मात्र होइन, निर्माणको गुणस्तर, समयसीमा, सुरक्षा मापदण्ड र काम सम्पन्न भएपछि संरचनाको अवस्थासमेत सम्बन्धित निकायले नियमित अनुगमन गर्न आवश्यक छ । एउटा परियोजना सम्पन्न भएको केही समयमै फेरि भत्काउनुपर्ने अवस्था आउन नदिन पूर्वयोजना र निकायबीच प्रभावकारी समन्वय अपरिहार्य छ ।

‘भत्काउने र छाड्ने’ प्रवृत्तिको अन्त्य आवश्यक

विकास बजेट खर्च हुनु आफैंमा उपलब्धि होइन । खर्च भएको रकमबाट नागरिकले कति सुविधा पाए र सार्वजनिक पूर्वाधार कति सुरक्षित तथा दिगो बन्यो भन्ने महत्वपूर्ण हुन्छ ।

आर्थिक वर्ष सकिन लाग्दा बजेट खर्च गर्नकै लागि हतारमा सडक भत्काउने तर काम सम्पन्न नगरी छाड्ने प्रवृत्तिले राज्यको लगानीको प्रभावकारितामाथि प्रश्न उठाउँछ । यस्तो अभ्यासले नागरिकलाई सास्ती दिनुका साथै सरकारी स्रोतको दुरुपयोगको जोखिमसमेत बढाउँछ ।

काठमाडौंका सडकमा देखिएका बौद्धद्वार मार्ग र गौरीघाटका समस्या प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्ता समस्या राजधानीका अन्य सडक तथा सार्वजनिक स्थानमा पनि देखिन्छन् । त्यसैले सम्बन्धित निकायले तत्काल जोखिमयुक्त स्थानको पहिचान गरी खुला ढल छोप्ने, अधुरा पैदलमार्ग तथा सडक निर्माण सम्पन्न गर्ने र निर्माणस्थलमा अनिवार्य सुरक्षा व्यवस्था मिलाउन आवश्यक छ ।

सडक नागरिकको यात्रा सहज बनाउने माध्यम हो, धराप बनाउने ठाउँ होइन । विकासका नाममा संरचना भत्काएर नागरिकलाई जोखिममा पार्नेभन्दा योजनाबद्ध, समन्वयात्मक र समयमै सम्पन्न हुने पूर्वाधार निर्माण प्रणाली आवश्यक छ । अन्यथा हरेक वर्ष नयाँ बजेट आउने, सडक भत्किने र नागरिकले उही पुरानो सास्ती भोग्ने चक्र दोहोरिइरहनेछ ।