काठमाडाैँ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।
सोमबार बिहान करिब ५ः४५ बजे सडकको माथिल्लो भागबाट सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए।
सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले पहिरो हटाउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरेको थियो। पहिरो हटाएपछि सडकमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ।
पहिरो हटाइएसँगै हाल पृथ्वी राजमार्गमा सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन भइरहेका छन्। यद्यपि, सडकको माथिल्लो भागमा थप पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
वर्षायाममा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ। सडक आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम कायमै रहेको बताइएको छ।











