काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनले रोल्पामा निरन्तर भइरहेको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।
पुनले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री शाहसँग भेट गरी पछिल्ला दिनमा रोल्पाका विभिन्न स्थानमा भएका बाढीपहिरोका घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार यही साउन २७ गते थबाङ गाउँपालिका–५, उवामा आएको पहिरो तथा बाढी र बिहीबार राति सुनछहरी गाउँपालिका–२, भित्रीगामका विभिन्न स्थानमा गएको पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । केही साताअघि सुनछहरी गाउँपालिका–सेरममा पनि पहिरोका कारण मानवीय क्षति भएको थियो ।
पुनले बाढीपहिरोमा परी धेरै मानिसको मृत्यु, बेपत्ता तथा घाइते भएको, कतिपय बस्ती नै बगेको र घर, पशुचौपाया, खाद्यान्न तथा सडक, खानेपानी र विद्यालयलगायतका सार्वजनिक संरचनामा क्षति पुगेको भन्दै तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
उवा र भित्रीगामका पहिरोमा अझै बेपत्ता रहेकाहरूको खोज तथा उद्धारलाई तीव्र बनाउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न पनि उनले आग्रह गरेका छन् । बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, घरबारविहीनलाई तत्काल अस्थायी आवास तथा राहत र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
त्यस्तै, अवरुद्ध सडक, खानेपानीलगायतका सार्वजनिक सेवा तत्काल सञ्चालन गर्न तथा क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् । वर्षायाम अझै बाँकी रहेकाले थप विपद्को जोखिमलाई ध्यानमा राखी रोल्पाको भौगोलिक अवस्थाअनुसार आवश्यक उद्धार टोली र हेलिकोप्टर तयारी अवस्थामा राख्नसमेत उनले आग्रह गरेका छन् ।
भेटमा प्रधानमन्त्री शाहले उवाको घटनामा उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको र पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिइसकेको जानकारी गराएको पुनले बताएका छन् । प्रधानमन्त्रीले बेपत्ताको खोजीलाई थप प्रभावकारी बनाउन निर्देशन दिने प्रतिबद्धता जनाउनुका साथै बाढीपहिरोका कारण अवरुद्ध सार्वजनिक सेवा तत्काल सञ्चालन र पुनःस्थापना गर्ने बताएका छन् ।
यस्तै, जाजरकोट–रुकुम भूकम्पपछि अपनाउन लागिएको पुनर्निर्माणको ‘नेपाली मोडल’अनुसार रोल्पामा बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माण गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरेको पुनले उल्लेख गरेका छन् ।
पुनले तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढीपहिरो पीडितका लागि प्रदान गर्ने घोषणा गरेका छन् । पीडितको राहत व्यवस्थापनका लागि आवश्यक पहल अघि बढाइसकेको र राहत यथाशीघ्र पीडित परिवारसम्म पुर्याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने उनले बताएका छन् ।
उनले देश तथा विदेशमा रहेका नेपालीलाई रोल्पाका बाढीपहिरो पीडित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सक्दो सहयोग गर्न आह्वानसमेत गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालमगर, नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ र सहसंयोजक कृष्ण अधिकारी पनि सहभागी थिए ।











