२६ श्रावण २०८३, मंगलवार
,
Latest
काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै



अ+ अ-

नैरोबी। दक्षिण–पश्चिम सोमालियाको बाइदोआस्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको ‘डाक्टर्स विदाउट बोर्डर्स’ (एमएसएफ)ले जनाएको छ ।

एमएसएफका अनुसार जनवरीयता बाइदोआमा पाँच वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब ५० प्रतिशतमा कुपोषण देखिएको संस्थाले जनाएको छ ।

दक्षिण–पश्चिमी बाइदोआका १४ विस्थापित शिविरका ८८८ घरपरिवारमा जुलाईमा गरिएको सर्वेक्षणमा केवल दुई प्रतिशत परिवारले मात्र दैनिक तीन छाक खान पाउने अवस्था रहेको पाइएको थियो ।

एमएसएफका चिकित्सा संयोजक मिचेल साङमाले बाइदोआमा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको बताउनुभयो । उहाँका अनुसार जनवरीयता कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामा भर्ना गर्ने क्रम उल्लेख्य रूपमा बढेको छ ।

एमएसएफले कुपोषित बालबालिकाको उपचारका लागि आफ्नो स्वास्थ्य केन्द्रको क्षमता जुनमा ५० शय्याबाट बढाएर १२० पुर्याएको जनाएको छ । साङमाका अनुसार स्वास्थ्य केन्द्रको आकस्मिक कक्ष, बालरोग तथा पोषण वार्डलगायतका स्थान कुपोषित बालबालिकाले भरिएका छन् ।

साङमाले करिब ९० प्रतिशत बालबालिकामा गम्भीर स्वास्थ्य जटिलता देखिएको बताउनुभयो । उपचारपछि पुनः कुपोषित भएर स्वास्थ्य केन्द्रमा फर्किने बालबालिकाको सङ्ख्या पनि उच्च रहेको एमएसएफले जनाएको छ ।

एमएसएफका महामारी रोग विशेषज्ञ चेनोआ शङ्करका अनुसार संस्थाको सहयोगमा सञ्चालित कार्यक्रममा उपचारपछि पुनः भर्ना हुने बालबालिकाको दर ६० प्रतिशतभन्दा बढी छ । पोषण अभावका मूल कारण सम्बोधन हुन नसक्दा उपचारपछि पनि बालबालिका पुनः स्वास्थ्य समस्या लिएर फर्किने गरेको उहाँले बताउनुभयो ।

विश्वव्यापी मानवीय सहायता कोषमा आएको कमीले सोमालियाको अवस्था थप जटिल बनाएको एमएसएफले जनाएको छ । संस्थाका अनुसार सन् २०२६ को सोमालियाको मानवीय सहायता योजनामा ४० प्रतिशत कटौती गरिएको छ भने जुलाईसम्म आवश्यक रकमको एक तिहाइभन्दा कम मात्र जुटेको छ ।

यसका कारण एमएसएफ तथा अन्य गैरसरकारी संस्थाले कुपोषण रोकथामका कार्यक्रमभन्दा जीवनरक्षाका कार्यक्रमलाई प्राथमिकता दिनुपरेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२६ को पहिलो तीन महिनामा सोमालियामा पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये करिब ९० प्रतिशत विस्थापनको मुख्य कारण खडेरी रहेको राष्ट्रसङ्घले जनाएको छ ।

सोमालिया जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकमध्ये एक हो । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण खडेरीजस्ता चरम मौसमी घटना अझ बारम्बार र तीव्र बन्दै गएका छन् ।
अन्तरराष्ट्रिय सहयोग तथा मानवीय सहायता कोषमा आएको कमीका साथै देशमा असुरक्षा पनि बढेको छ । यसले अल–शबाबविरुद्ध लामो समयदेखि जारी सुरक्षा कारबाही तथा मानवीय सहायता वितरणमा चुनौती थपेको छ ।

गत जुनमा संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले सोमालियाका करिब एक तिहाइ जनसङ्ख्या खाद्य असुरक्षाको सामना गरिरहेको बताएका थिए । लामो समयदेखि द्वन्द्व र अस्थिरताको सामना गरिरहेको सोमालियामा पछिल्ला वर्षकै गम्भीर खडेरी परेको छ ।