काठमाडौँ। चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ४ सय ८ वटा विपद्का घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुलेटिनअनुसार यस अवधिमा विपद्का कारण कुल २०५ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता र १ हजार ३ सय २४ जना घाइते भएका छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख यता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशका कारण भएको छ । सर्पदंशका ८ सय १ घटनामा परी ५९ जनाको मृत्यु र ७ सय ४९ जना घाइते भएका छन् ।
त्यसैगरी चट्याङका २३५ घटनामा २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाको मृत्यु भएको छ ।
मुलुकभर घटेका विपद् घटनाबाट कुल ५ हजार ४ सय ५७ परिवार प्रभावित भएका छन् । हावाहुरीका ४८० घटनामा १ हजार ३ सय ५८ परिवार र आगलागीका घटनामा १ हजार १ सय ७० परिवार प्रभावित भएका छन् । –न्युज एजेन्सी नेपाल











