काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान संसदीय पद्धतिमा आधारित कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले अब कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।
संसदीय अभ्यासमा लागेका कम्युनिस्ट पार्टीहरूले दुई–तिहाइ बहुमत नजिक पुगेर पटक–पटक सरकारको नेतृत्व गरे पनि राज्यका निकायहरूमा कुनै ठोस परिवर्तन गर्न नसकेको उहाँको आरोप छ । मुलुकको विद्यमान राजनीतिक सङ्कट समाधानका लागि नेपालको राजनीतिले नयाँ निकास खोजिरहेको उल्लेख गर्दै उहाँले चार मित्र शक्तिहरूबीचको सहकार्यमा जोड दिनुभयो । देशका शक्तिहरू गम्भीर भएर एकै ठाउँमा उभिए मात्र मुलुकले नयाँ दिशा पाउने उहाँको तर्क छ ।
महासचिव विप्लवले कम्युनिस्टहरूबीचको एकता मात्र पर्याप्त नहुने बताउँदै आम जनताका समस्याहरूलाई सम्बोधन गर्ने गरी एकीकृत आन्दोलन निर्माण गर्नुपर्ने बताउनु भयो । कम्युनिस्टहरूले आफ्नो मूल लक्ष्य र उद्देश्यलाई आत्मसात् गर्दै जनतालाई सही दिशा निर्देश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।











