१८ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठन र विघटनको गहिरो समीक्षा नगरिकन वामपन्थी एकता गरिए त्यसले कुनै सार्थकता नपाउने बताउनुभएको छ ।

सोमवार २४ औँ बोत्ले स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन नेकपाको गठन र विघटनले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको उहाँको भनाइ छ ।

महासचिव पोखरेलले कम्युनिष्ट दलहरुले नेताहरुका टाउका नभई कार्यकर्ताको भावना जोड्ने कुराको सामथ्र्य राख्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण नेताहरुबीचको झगडा भएको टिप्पणी गर्नुभयो ।

उहाँले नेताहरूबीचको सहमतिलाई मात्रै आधार बनाएर नभई कार्यकर्ताको भावना, नीति र साझा कार्ययोजनामा आधारित एकताले मात्रै आन्दोलनलाई पुनर्जीवित गर्नसक्ने बताउनुभयो । उहाँले अहिले लोकतान्त्रिक व्यवस्थाका लागि लडेका राजनीतिक दलहरुसँगै लोकतान्त्रिक व्यवस्था समेत संकटमा रहेको बताउनु भयो । उहाँले जेन–जी आन्दोलनको सन्दर्भमा राजनीतिक दलहरुका सोचहरु विभाजित हुँदा मुलुक दुर्घटनाउन्मुख रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपाको गठन र विघटन नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाउने एउटा महत्वपूर्ण परिघटना बन्यो । जसले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको छ । यसको समीक्षा नगरिकन फेरि नेताहरुका टाउका जोडेर वाम एकता र सफलता प्राप्त गरिन्छ भन्ने खालको मान्यता बनायौँ भने त्यसको कुनै सार्थकता हुँदैन । त्यसैले मैले भन्ने गर्छु नेताहरुका टाउका होइन कार्यकर्ताको भावना जोड्ने कुराको सामथ्र्य राख्न सक्नुपर्दछ । त्यसले नै वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्दछ । किनकि आजको वामपन्थी आन्दोलन कमजोर हुनुका पछाडि नेताहरुका बीचको झगडाको हो । त्यसलाई बलियो बनाउने हो भने नेतालाई केन्द्रित गरेर होइन, नीतिलाई केन्द्रित गरिकन, कार्ययोजनालाई केन्द्रित गरिकन वामपन्ती आन्दोलनलाई एकतावद्ध गर्ने कुरामा सोच्ने हो भने मात्र आन्दोलनको पुनर्जागरण हुनसक्दछ भन्ने कुरा हामीले बुझ्नुपर्दछ ।’

मुलुकको लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि लोकतन्त्र स्थापनाका लागि लडेका राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको महासचिव पोखरेलको भनाइ छ ।–न्युज एजेन्सी नेपाल