१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरका तीन गन्तव्यमा वृक्षरोपण



अ+ अ-

बागमती। साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यावरण र पर्यटनमा जोड दिँदै आएको हिमालयन राइडर्स सोसाइटी हेटौँडाले आज मकवानपुर जिल्लाका विभिन्न तीनवटा गन्तव्यमा वृक्षरोपण गरेको छ ।

सोसाइटीले हरेक शनिबार साइक्लिङमार्फत गन्तव्य पवर्द्धनसँगै पर्यावरणीय सचेतना अभिवृद्धिका लागि विभिन्न गन्तव्यहरूमा वृक्षरोपण गर्दै आइएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।

यस हप्ता हेटौँडा उपमहानगरपालिका–१७ हर्नामाडीस्थित २००८ सालमा स्थापित बालबोध मावि परिसर, हेटौँडा–६ चौहडास्थित वंशगोपाल मावि परिसर र हेटौँडा–९ स्थित ऐतिहासिक एवम् धार्मिक गन्तव्य त्रिवेणीधाम परिसरमा तीन/तीन वटाका दरले एभोकाडोका बिरुवा लगाइएको उहाँले बताउनुभयो ।

पर्यावरणीय सचेतना अभिवृद्धि गर्नु पनि आफूहरूको लक्ष्य भएको उल्लेख गर्दै उहाँले कार्यक्रमले समुदायमा सचेता अभिवृद्धि भइरहेको बताउनुभयो । वृक्षरोपण कार्यक्रमका लागि सोसाइटीका सदस्य यादव शर्मा ढकालले २५ वटा एभोकाडोका बिरुवा निःशुल्क उपलब्ध गराउनुभएको उहाँको भनाइ छ ।

यस संस्करणमा सोसाइटीको संयोजनमा ३० सदस्यीय टोलीले आज हेटौँडाबाट मकवानपुरको बकैया गाउँपालिका–३ हात्तीसुँडेसम्म करिब ८० किलोमिटर साइकल यात्रा गरेकोे जानकारी दिँदै उहाँले कार्यक्रमले हात्तीसुँडे क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको बताउनुभयो । रासस