जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयका समस्या समाधान गर्दै शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्वविद्यालयको वस्तुस्थिति बुझ्न तथा आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुरधाम पुग्नुभएका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप व्यवस्थित र परिष्कृत ढङ्गले अघि बढाइने बताउनुभयो । विश्वविद्यालयका पदाधिकारीसँगको छलफलका क्रममा उहाँले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।
विश्वविद्यालयको आफ्नै भवन नहुँदा उत्पन्न समस्या समाधानका लागि जग्गा प्राप्तिको कानुनी प्रक्रिया छिटो टुङ्ग्याएर भवन निर्माणको काम अघि बढाउने मन्त्री पोखरेलले आश्वासन दिनुभयो ।
भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई क्रिकेट ब्याट, बल, फुटबललगायत खेलकुद सामग्री पनि हस्तान्तरण गर्नुभयो । करिब दुई महिनाअघि जनकपुरधाम भ्रमणका क्रममा विद्यार्थीले खेलकुद सामग्रीको अभावबारे गुनासो गरेपछि उहाँले आफ्नो प्रतिबद्धताअनुसार सामग्री उपलब्ध गराउनुभएको हो ।
विद्यार्थीको माग सम्बोधन गर्न पाउँदा आफू खुसी भएको मन्त्री पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वविद्यालयका समस्या, विशेषगरी जग्गा व्यवस्थापन र आफ्नै भवन निर्माणका विषयमा आवश्यक परामर्श गरेका छौँ । यी कामलाई शीघ्र अघि बढाउने तयारी भइरहेको छ ।’
मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानबारे मन्त्री पोखरेलले प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिनुभयो । अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उहाँले प्रदेश प्रमुख तथा सम्बन्धित निकायका प्रमुखसँग थप छलफल गरी कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिने बताउनुभयो ।
शिक्षा क्षेत्रमा थुप्रै चुनौती रहे पनि त्यसलाई अवसरमा रूपान्तरण गर्दै सरकार अघि बढिरहेको मन्त्री पोखरेलको भनाइ छ । उहाँले समस्याको पहिचान र समाधान गर्दै शैक्षिक क्षेत्रको सुधारका लागि सरकार निरन्तर काम गरिरहेको बताउनुभयो ।











