८ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवलिङ्ग नै पहिलो मूर्ति हो ?



अ+ अ-

अमूर्तलाई चिन्न, अगम्यलाई जान्न, अदृश्यलाई बुझ्न, निराकारलाई स्मरण गर्न सजिलो होस् भनी बनाएका स्वरूपविशेष नै मूर्ति हुन् । मूर्तिले देवीदेवतालाई देखाउँछ, ईश्वरलाई बुझाउँछ, परमात्माको बोध गराउँछ । इच्छाएका देवीदेवताको याद गर्न सजिलो होस्, कीर्ति रहोस्, मुक्ति मिलोेस्, सुखशान्ति होस् वा विभिन्न लक्ष्यले मूर्ति स्थापना गरिन्छ ।

परमात्माको मूर्तिलाई शिवलिङ्ग भनिन्छ । देवीदेवता, भगवान् र ऋषिमुनिहरूको स्वरूप उतारिएमा मूर्ति भनिन्छ । पितापुर्खा, वीर, शहिद वा विशिष्टजनको विम्बलाई शालिक भनिन्छ । शिवलिङ्कको निर्माण ज्ञानका आधारमा, मूर्तिको निर्माण पुराण र तन्त्रका आधारमा, शालिकहरू स्वरूप वा फोटोको आधारमा बनाइन्छ । मन्त्र, तन्त्र वा भावपूर्ण पुकारअनुसार मूर्तिले शक्ति, ऊर्जा, आशीर्वाद हस्तान्तरण गर्छ ।

शालिकले अग्रजको याद दिलाउँछ, स्वरूपलाई जीवन्त राख्छ । अदृश्यलाई चिनाउन, अनुष्ठान र चिन्तन गर्नलाई मूर्तिको ऊर्जाले प्रेरणा, साथ, मार्गदर्शन दिन्छ । सीमित ढुङ्गामा परमात्मा र प्रकृतिको सार, अक्षरर आत्माको बोध, जीवन र जगतकाे ज्ञान हुनेहुँदा यिनीहरूबाट सर्वप्रथम शिवलिङ्ग बनाइयो ।

ईश्वरलाई चिनाउने, ब्रम्हण्डलाई बुझाउने, उत्पत्ति र विनाशलाई बताउने विश्वकै पहिलो मूर्ति भने शिवलिङ्ग हो । ईश्वरलाई बुझाउने शब्द ‘ॐ’ हो, ईश्वरलाई देखाउने पहिलो मूर्ति (तस्बिर) ‘शिवलिङ्ग हो । विश्वकर्माले विष्णुका दुईवटा र अनन्तनागको मूर्ति बनाएका थिए । यहाँका ढुङ्गाले मन्त्र र तन्त्रशक्तिलाई आशीर्वादमा बदलिदिन्छ, भावलाई भगवान्मा लगिदिन्छ, ध्यानद्वारा धाममा पुग्न सहयोग गर्छ । ढुङ्गाले राम्रो आवाज दिने, ढुङ्गाहरू बोलिरहेका, ढुङ्गाले यज्ञको हविलाई देवताभन्दा पहिले प्राप्त गर्ने चर्चा वेदमा छ । यी विशेषता, शक्ति र कार्य गर्ने गुण भएकाले मूर्ति बन्ने पहिलो सौभाग्य ढुङ्गालाई मिल्यो । दु:ख, खराब विचारलाई हटाएर यहाँ चढाइएका दूधलाई औषधि बनाइदिने हुँदा ढुङ्गाबाट शिवलिङ्ग, मूर्ति र शालिकहरू निर्माण गरियो ।
लिङ्गनि कल्पयित्वैवं स्वाधिकारानुरूपत: ।
विश्वकर्मा ददौ तेषां नियोगाद् ब्रण: प्रभो: ।।–लिङ्गपुराण, (पूर्वभाग ७४।१)

अर्थात् “ब्रम्हाजीको आज्ञाअनुरूप विश्वकर्माले आफ्नो अधिकारक्षेत्रभित्र रहेर शिवलिङ्गको निर्माण गरे ।” विश्वकर्मा प्राचीन कालका इञ्जिनीयर हुन् । उनले विभिन्न देवता एवं राजामहाराजाहरूका भव्य र विशाल निवासस्थान, राजभवन, सभाभवन, महलहरू बनाए । प्रविधिका पितामह भएकाले उद्योग आदिमा उनको मूर्तिमा पूजा गरिन्छ । बलियो, ऊर्जाशील ढुड्डामा मूर्ति बनाउने कलाको सदुपयोग भयो ।

सबैभन्दा पहिले चारपाटा जलहरी भएको शिवलिड्डलाई ब्रम्हाले पूजा गरे, जसलाई ब्रम्हाशिवलिङ्ग भनियो । पहिलो मूर्तिपूजक ब्रम्हा, पूजिएको मूर्ति शिवलिङ्ग र पुजिएको स्थान ब्रम्हलोक हो । यसपछि महादेवलगायतका देवीदेवता, ऋषि तथा सिद्धहरूले शिवलिड्डको अनुष्ठान गर्न लागे । शिवलिङ्गपछि निर्माण भएको पहिलो र ऐतिहासिक मूर्तिको नाम अर्धनारीश्वर हो ।

अर्धनारीश्वरवपु: प्रचण्डोगतिशरीरवान् ।
विभजात्मानमित्युक्त्वा तं ब्रह्मान्तर्दध तत: ।।–विष्णुपुराण (१।७।१३)

अर्थात् “रुद्रको प्रचण्ड प्रकाशमान शरीर आधा नर र आधा नारी रुपमा थियो । त्यसपछि ब्रह्माजीले शरीरलाई छुट्याउनु भनेर अन्तर्धान हुनुभयो ।” लिङ्गलाई पुरुष र जलहरीलाई प्रकृति मानेर दायाँ भागमा पुरुष र बायाँतर्फ स्त्रीको आकार दिई दोस्रो मूर्तिको रूपमा अर्धनारीश्वरलाई बनाइयो । योभन्दा पहिले प्राकृतिक रूपमा प्राप्त आकारविहीन मूर्तिमा वा शिवलिङ्गमा पूजा गरिन्थ्यो । सृष्टिको शुरुवात प्रकृति र पुरुषको संयोगबाट भएको बुझाउन शिवलिङ्ग मा प्रकृतिस्वरूपा जलहरी र पुरुषस्वरूप महादेव भाग राखियो ।

मूर्ति निर्माणको तेस्रो क्रममा आइपुग्दा अर्धनारीश्वरको मूर्तिमा बायाँतर्फ रहेको महिलाको आकृतिबाट देवीहरूको, पुरुषको मुखाकृतिबाट देवताको मूर्ति बनाइयो । ब्रम्हाण्डको रहस्य, सृष्टिको वर्णन, जीव विकासको व्याख्यान, प्रकृति र पुरुषको संयोजन बताउन शिवलिङ्गभन्दा अर्धनारीश्वरको मूर्तिले सरल बनाएको थियो । अर्धनारीश्वरको मूर्तिले विभिन्न विधिबाट अनेकौँ देवीदेवताको मूर्ति बनाउने ढोका पूर्णरूपमा खोलिदियो । अर्धनारीश्वर भन्नुपर्नेमा उच्चारण बिग्रिएर अर्धनारेश्वर भन्न थालियो । सत्ता, सम्पत्ति र पारिवारिक जीवन आदि चाहनेले तान्त्रिक विधिबाट अर्धनारीश्वरको पूजापाठ गर्छन् ।

उमामहेश्वरलाई कतिपयले अर्धनारीश्वर मान्दछन् । अर्धनारीश्वरमा पुरुष र महिलाको आधाआधा आकृति हुन्छ यहाँ महादेव र पार्वती, विष्णु र लक्ष्मी, इन्द्र र शची आदिमध्ये कसको स्वरूप हो एकीन गर्न सकिन्न । शिवलिङ्गको व्याख्यात्मक मूर्ति अर्धनारीश्वर हो । अर्धनारीश्वरको मूर्तिमा पुरुषले गलामा नाग, निकटमा नन्दी, कम्मरमा बाघको छाला लगाएको हुँदैन, यो उमामहेश्वरको मूर्तिमा देखिन्छ ।

उमामहेश्वरको मूर्तिमा महादेवले आसन कसेर पार्वतीलाई काखमा लिई काँध, स्तन वा कम्मरमा हात राखेको देखिन्छ । तन्त्र र योग, महादेव र पार्वती, लय र मुक्तिलाई बुझाउन उमामहेश्वरको मूर्ति बनाइयो । मानिसले धनसम्पत्ति, सन्तान, इज्जत अनेक कमाउँछन्, आफन्त र परिवार बनाउँछन्, एक दिन नाटकझैँ छोडेर विलीन हुन्छन् । ईश्वरको सृष्टि सकिन लामो समय लाग्छ तर प्राणीको सृष्टि लगभग सय वर्षको हाराहारीमा सर्वनाश हुन्छ । उमामहेश्वरको मूर्तिले लौकिक तथ्यलाई, अर्धनारीश्वरको मूर्तिले अलौकिक रहस्यलाई बताउँछ । ईशार्धं रक्तवर्णं तु श्यामवर्णमुमार्धकम् ।

अर्धनारीश्वरं रूपं कुर्याद् विद्वान् सलक्षणम् ।।–मयमतम् (३६।८९)

अर्थात् “महादेवको भागमा रातो वर्ण र उमा भएको भाग कालो वर्णको हुन्छ भन्ने तथ्य विद्वानहरूले बताउँछन् ।” अर्धनारीश्वरपछि उमामहेश्वरको मूर्तिले लोकप्रियता पायो । उमामहेश्वरको मूर्तिपछि महादेव र विष्णुलाई जोडेर हरिहरको मूर्ति, लक्ष्मी र नारायण मिलाएर लक्ष्मीनारायण हुँदै एकै देवीदेवताको पारिवारिक वा शास्त्रविधिअनुसार देवीदेवताका अनेकौँ शिर र हातको संख्या राखेर मूर्तिहरू बनाउन थालियो ।

एउटै मूर्तिमा भिन्न देवीदेवताका मूर्ति कुँदेर मूर्तिकारहरूले शैव, शाक्त, सौर्य, गाणपत र वैष्णवबिचको विवाद विर्सजन गर्न महत्वपूर्ण भूमिका खेले । पाञ्चायन देवताको पूजा यसकै उदाहरण हो । ‘हृ’ धातुबाट हरि र हर शब्दको निर्माण भएकाले हरिहरको लोकप्रियता उस्तै बन्न पुग्यो । महादेव, विष्णु र ब्रम्हा लाई मिलाएर हरिहरपितामहको एवं महादेव, विष्णु, ब्रम्हा र सूर्यलाई मिलाई हरिहरहिरण्यगर्भसूर्यको मूर्ति बन्यो । अनुसूयाका पुत्र दत्तात्रयमा ब्रम्हा विष्णु र महादेवको संयुक्त स्वरूप मिलाई मूर्ति निर्माण गरियो ।

अनेक देवीदेवतालाई एउटै मूर्तिमा, एउटै देवीदेवतालाई विभिन्न आकृतिमा बनाउन थालियो । विराट् स्वरूप, ब्रम्हा जीका चार मुख, हनूमान् र गणेशका पाँच मुख बन्न थाले । उपनिषद्, पुराण, तन्त्र, दर्शन, साहित्य आदिले हजारौँ पृष्ठमा व्याख्या गर्न नसकेको ज्ञान र रहस्यलाई एउटै मूर्तिले बुझाउन सक्यो । हिमालयमा तप गर्दै, मशानघाटमा बस्दै, पार्वतीलाई मुद्रा सिकाउँदै, नाच्दै गरेका महादेवका स्वरूपले तन्त्र, योगशास्त्रलाई जीवन्त बनायो ।

पृथ्वीलोकमा ब्रम्हा, विष्णु र इन्द्रले पहिलोपटक स्थापना गरेको मूर्ति पशुपति हो । त्रेतायुगमा विश्रवा ऋषि र उनका पुत्र रावणले गोकर्णेश्वरको पूजा गरेको इतिहासले बताउँछ । युगले ती मूर्ति नभेटिए पनि काठमाडौँउपत्यकाले पहिलोपटक शिवलिङ्ग स्थापना भएको र मूर्तिपूजाको जेष्ठ स्थान बनेको पुराणहरूले पुष्टि गर्छन् ।

ललितपुरमा भेटिएको गजलक्ष्मी, लुम्बिनीमा उत्खनन् गर्दा प्राप्त त्रिदेवी र भूदेवीका लिच्छविकालिक मूर्तिले नेपालको मूर्ति परम्परा प्राचीन भएको सिद्ध हुन्छ । शुक्लयजुर्वेद (१६।२८) मा पशुपतये च नमो…., शुक्लयजुर्वेद (१६।४०)मा शंकराय च पशुपतये च नम:…, शुक्लयजुर्वेद (२४।३, ३९।९)मा पशुनामधिप असत्…., अथर्ववेद (१८।३१।२ र ११।२।५–६), शतपथब्राéण (५।३।३।७)मा … रुद्राय पशुपतये.., महाभारत (द्रोणपर्व ७४।५२) मा पशूनां पतये…भनी पशुपतिको उल्लेख गरिएको छ ।

‘पशु’ र ‘पति’ दुई शब्दको षष्ठीतत्पुरुष समास भई ‘पशुपति’ शब्द बन्छ । अद्वैतभावमा ‘पशु’ र ‘पति’ दुवैको अर्थ प्रकारान्तरले एकै हुन्छ । ‘पशु’को अर्थ सम्पूर्ण प्राणी, ‘पति’को अर्थ जगत्का मालिक अर्थात् शिव हो । वेदले स्तुति गरेको, पुराणले बयान गरेको, राम र कृष्णले विश्वास गरी आपद्मा पूजा परमात्मा नै पशुपति (शिव) भएकाले जेष्ठमूर्ति शिव हुन् भन्दा फरक पर्दैन ।

अर्को दृष्टिले हेर्दा ब्रह्मा, विष्णु र इन्द्रले बनाएको पहिलो मूर्ति पशुपति नै भएकाले मूर्तिको जरो नेपालमा छ, शिवलिङ्गको बीज पशुपतिमा छ भन्न सकिन्छ । यसरी पहिलो मूर्तिका रूपमा देखा परेको पशुपतिको शिवलिङ्गबाट आम्नायहरुको जन्म भयो । मुखलिङ्ग स्थापना गर्ने विधि बतायो, वेद र आगमलाई संयोजन गरी पूज्ने पद्धतिको विकास गरायो ।

तन्त्र, दर्शन, सभ्यता, अनुष्ठान, विज्ञान, परम्परा, कला आदिको विकासमा आमूल परिवर्तन गरिदियो । शिवलिङ्ग अर्धनारीश्वर, उमामहेश्वर हुँदै मूर्तिले स्वरूपमा मात्र परिवर्तन गरेन वेद, पुराण, तन्त्र आदिको सत्यतथ्यलाई बुझाउन महत्वपूर्ण भूमिका खेल्यो । यसरी हेर्दा नेपालीहरु पहिलो मूर्तिपूजक र नेपाल मूर्तिले जन्म लिएको प्रथम मुलुक हो भन्दा शंका र सन्देश गर्ने स्थान देखिँदैन ।