सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसमम ९३ दशमलव ४७ प्रतिशत रोपाइँ भएको छ ।
कृषि विकास निर्देशनालय, दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य एक लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमध्ये शुक्रबारसम्म एक लाख ४४ हजार ८२९ हेक्टरमा रोपाइँ भएको हो ।
प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब ९६÷९६ प्रतिशत रोपाइँ भएको छ ।
कैलालीमा ६६ हजार ८२० हेक्टरमध्ये ६४ हजार १४७ र कञ्चनपुरमा ४८ हजार ४९६ मध्ये ४६ हजार ५५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहाडी जिल्लामध्ये डडेल्धुरामा सबैभन्दा बढी ९५ दशमलव शून्य तीन प्रतिशत रोपाइँ भएको छ ।
दार्चुलामा ९१ दशमलव ७२, अछाममा ९०, बझाङमा ९१, बैतडीमा ९० दशमलव एक र बाजुरामा ९१ दशमलव ९८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका सूचना अधिकारी ज्ञानराज कँडेलले जानकारी दिनुभयो ।
प्रदेशका नौ जिल्लामध्ये डोटीमा सबैभन्दा कम ६० दशमलव एक प्रतिशत मात्रै रोपाइँ भएको छ। जिल्लामा धान रोप्न योग्य छ हजार ४२६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म तीन हजार ८५६ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको उहाँले जनाउनुभयो ।
कृषि प्रसार अधिकृत पाण्डेले शनिबार र आजको विवरण अद्यावधिक गर्न बाँकी रहेको जनाउँदै मनसुन सक्रिय रहेकाले बाँकी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको बताउनुभयो ।
सोमबारसम्म प्रदेशभर करिब ९७ प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको उहाँको भनाइ छ । रासस











