३१ असार २०८३, बुधबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः मल अभाव, प्रेस स्वतन्त्रता र सुरक्षा चुनौतीबारे सांसदहरूको सरकारको ध्यानाकर्षण कानून मन्त्रालयले सङ्‍घीय संसद्लाई बुझायो आउने आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरुको सूची डोजर अभियानमा ९ जनाको मृत्यु, ‘संस्थागत हत्या’ भएको सांसद गीता गुरुङको आरोप प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान स्वास्थ्यदेखि वित्तीय साक्षरतासम्मः सामाजिक जिम्मेवारीमा ग्लोबल आइएमई डिप्रेसनमा रहेका रौतहटका २८ वर्षीय सहानीद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’ सेबोनमाथि सांसद अधिकारीको प्रश्नः ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’ उपसभामुख नेतृत्वको टोली चीनतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास वितरणलाई व्यवस्थित बनाउन एकीकृत प्रणाली र समयसीमासहितको कार्ययोजना आवश्यकः सभापति अन्सारी



अ+ अ-

काठमाडाैँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभएको छ ।

बुधवार आयोजित समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति श्रृङ्खलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको हो । सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न ‘हाउसहोल्ड म्यापिङ्ग’ र एकीकृत सूचना प्रणाली (इन्टिग्रेटेड सिस्टम) को आवश्यकता रहेको बताउनु भयो ।

वडा तहबाटै उपभोक्ताको विवरण सङ्कलन गरी नेपाल आयल निगम, ग्यास उत्पादक र वितरकले हेर्न मिल्ने गरी प्रणाली विकास गरेमा अनुगमन प्रभावकारी हुने र दुरुपयोग रोकिने उहाँको भनाइ छ । उहाँले आधा सिलिण्डरको प्रयोगबाट प्राप्त भएका उपलब्धि र समस्याहरूको समीक्षा गर्दै आगामी दिनमा परिमार्जित नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

साथै, ढुवानीमा सहज हुने र सुरक्षित मानिने ‘लाइट वेट’ (कार्बन फाइबर) सिलिन्डरको प्रयोग व्यापक हुन नसकेकोमा चासो व्यक्त गर्दै त्यसको गुणस्तर र सुरक्षाबारे स्पष्ट पार्न आग्रह गर्नुभयो । पाइपलाइन विस्तार र भण्डारण क्षमता वृद्धिका सम्बन्धमा सभापति अन्सारीले सम्बन्धित मन्त्रीसँग स्पष्ट कार्ययोजना र समयसीमा सहितको प्रतिवद्धता माग गर्नुभयो ।

सभापति अन्सारीले सहरी क्षेत्रका हाउजिङ कोलोनी र अपार्टमेन्टहरूमा ग्यास आपूर्तिलाई व्यवस्थित गर्न सामूहिक वितरण प्रणालीको अवधारणा अघि सार्नुभयो। अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै ठूला हाउजिङमा आफ्नै भण्डारण र पाइपलाइन प्रणाली जडान गर्न ग्यास उद्योगीहरूलाई पहल गर्न उहाँले आग्रह गर्नुभयो । यस्तो प्रणालीले वितरणलाई थप व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उहाँको विश्वास छ । –न्युज एजेन्सी नेपाल