काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विभिन्न मिडिया र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही गर्नुपर्ने बताउनुभएको हो ।
सांसद ठगुन्नाले राजनीतिक नेतृत्व र मिडियामाथि त्रास फैल्याउने उक्त गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको रुपमा चित्रण गर्दै यस्ता खालका सांकेतिक गतिविधि देशको हितमा नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको आरोप पनि लगाउनु भयो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३५ सयको प्रिमियममा एक लाखको उपचार गर्न नसक्ने भनेर दिएको अभिव्यक्तिले वर्तमान सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको पुष्टि भएको सांसद ठगुन्नाको जिकिर थियो ।
त्यस अवसरमा सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको उल्लेख गर्दै आपत्ति समेत जनाउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रहित विरोधी गतिविधि सच्याउनका विकल्प नरहेको पनि बताउनु भयो ।











