८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
अ+ अ-

कञ्चनपुर। डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ ।

कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् ।

नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् । करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन ।

गाउँ पुग्ने एकमात्र माध्यम पैदल यात्रा हो । स्थानीयका अनुसार झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा उकालो–ओरालो, खोला र जङ्गल पार गर्नुपर्छ । वर्षायाममा यो बाटो अझ जोखिमपूर्ण बन्छ । पहिरो, हिलो र चिप्लोका कारण यात्रा निकै कठिन हुन्छ । बाढीले पनि स्थानीयको दैनिक जीवन थप कष्टकर बनाउने गरेको छ । यो उनीहरूको नियमित दैनिकी जस्तै बनेको छ ।

गाउँमा कोही बिरामी परेका अवस्थामा झन् कठिन हुन्छ । एम्बुलेन्स त परको कुरा, स्ट्रेचरसमेत पुग्न सक्दैन । त्यसैले बिरामीलाई डोको वा पिठ्युँमा बोकेर करिब छ घण्टा पैदल हिँडेर कञ्चनपुरको झलारी वा अन्य स्वास्थ्य संस्थासम्म लैजानुपर्छ । स्थानीय हरिश कुँवर भन्नुहुन्छ, “गाउँसम्म सडक छैन । बिरामीलाई पिठ्युँमा बोकेर हिँडाउनुपर्छ । बाटोमै ज्यान जाने डर हुन्छ । अर्को विकल्प पनि छैन ।”

शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ । गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । माध्यमिक शिक्षा पढ्न बालबालिकाले दैनिक चार घण्टासम्म पैदल हिँडेर आलितालको दोबाटा पुग्नुपर्छ । लामो यात्रा, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् ।

गाउँमा आधारभूत स्वास्थ्य चौकी पनि छैन । सामान्य बिरामी हुँदा झारफुक वा घरेलु उपचारमै भरपर्नुपर्ने अवस्था छ । दैनिक उपभोगका सामग्री किन्न पनि पलगडीका बासिन्दा कञ्चनपुरको झलारी बजार जानुपर्छ । खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य आवश्यक सामग्री पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय मोहनबहादुर ऐर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “किनमेल गर्न झलारी पुग्नुपर्छ । सामान किनेर फेरि पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्छ । वर्षायाममा धारापानी खोलामा बाढी आउँछ । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि घर पुग्न खोला तर्नैपर्छ ।”

उहाँका अनुसार धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोल्नुपरेको छ । एउटै खोला तीन–चार ठाउँबाट तर्नुपर्ने अवस्था छ । तीन वर्षअघि गाउँकै एक जना स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएका थिए । त्यो घटना अझै गाउँलेको सम्झनामा ताजै छ । ऐर भन्नुहुन्छ, “सडक र पुल बने हाम्रो जीवन धेरै सहज हुन्थ्यो । तर कहिले बन्ला भन्ने आशामै बसेका छौँ ।”

स्थानीय गीता कुँवरका अनुसार वर्षायाम सुरु भएपछि गाउँ बाहिर निस्कन पनि डर लाग्छ । उहाँ भन्नुहुन्छ, “बाटोमा हिँड्दा कुनबेला पहिरो झर्छ, कुनबेला खोला बढ्छ भन्ने थाहा हुँदैन । सडक छैन, सुरक्षित बाटो छैन । हरेक यात्रा जोखिमपूर्ण हुन्छ ।”

कठिन भौगोलिक अवस्थाका बीच यहाँका अधिकांश परिवार बाख्रापालन र कृषिमा निर्भर छन् । केही युवा रोजगारीका लागि भारत तथा अन्य ठाउँमा मजदुरी गर्न जाने गरेका छन् । गाउँमा उत्पादन भएका खसीबोका बिक्री गरेर घरखर्च चलाउने परिवार पनि धेरै छन् । सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ ।

स्थानीय रतनबहादुर साउदका अनुसार गाउँमा बिजुली पुगेको छैन । त्यसैले सौर्य ऊर्जामा भर पर्नुपरेको छ । सञ्चार सेवा पनि कमजोर छ । मोबाइलको नेटवर्क कहिलेकाहीँ मात्र लाग्ने भएकाले आपतकालीन अवस्थामा सूचना आदानप्रदान गर्न कठिन हुन्छ । स्थानीयले पिठ्युँमा बोकेर विद्युत्का खम्बा गाउँसम्म पु¥याएका छन् । तर खम्बा गाड्ने र तार तान्ने काम अझै भएको छैन ।

वर्षौंदेखि स्थानीयले सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आएका छन् । तर त्यसमा खासै प्रगति हुन सकेको छैन । साउद भन्नुहुन्छ, “पलगडीको विकासका लागि सबैभन्दा पहिले सडक चाहिन्छ ।

सडक पुगेपछि स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, कृषि र बजारसँगको पहुँच आफैँ विस्तार हुन्छ ।” विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि सडक, पुल, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पर्खाइमा छ ।  रासस