कैलाली। कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बन्नुभएको हो ।
भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गर्नुभएको छ । एक वर्ष अघिदेखि खेती गर्नुभएका उहाँले हाल खेतमा एक हजार २०० भन्दा बढी बिरुवा लगाउनुभएको छ । अझै आठ सय बिरुवा रोप्ने उहाँको योजना छ ।
भट्टको खेत अवलोकन गर्न दिनहुँ स्थानीय किसान पुग्ने गरेका छन् । परम्परागत खेतीसँगै उहाँले गर्नुभएको शीतलचिनीको व्यावसायिक उत्पादनबाट उत्प्रेरित भएका अवलोकनका लागि आउने किसानहरू बताउँछन् ।
कम लागतमा उत्पादन गर्न सकिने, तुलनात्मक रूपमा कम स्याहार गर्नुपर्ने तथा बजारको माग पनि बढ्दै गएकाले शीतलचिनीको खेती सुरुआत गरेको भट्टले बताउनुभयो । करिब रु दुई लाख लगानीमा व्यवसाय सुरु गर्नुभएका उहाँले बजारको माग बढ्दै गएकाले खेती विस्तार गर्ने योजना बनाएको बताउनुभयो ।
“पोषकतत्वले भरिपूर्ण मानिने शीतलचिनी सुरुमा यसको उपयोगिताबारे धेरैलाई जानकारी थिएन”, भट्टले भन्नुभयो, “पछिल्लो समय यसको फाइदाका बारेमा सबै जानकार हुन थालेपछि बजारमा माग बढन थालेको छ । यसको अझै प्रचारप्रसार हुन सक्यो भने व्यवसायले बजार पाउने सम्भावना अझै बढी हुनेछ ।”
भट्टले शीतलचिनीका पातबाट पाउँडर बनाई प्याकेजिङ गरेर बिक्री गर्दै आउनुभएको छ । दुई सय १० ग्रामको खुद्रा मूल्य रु ७०० र होलसेल मूल्य रु ४०० रहेको जनाउँदै यसको बिक्रीबाट करिब ७० प्रतिशत फाइदा हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार उत्पादित शीतलचिनीको पाउँडर कैलालीको धनगढी, अत्तरिया, काठमाडौँ, पोखरालगायत स्थानमा बिक्री हुने गरेको छ ।
शीतलचिनी कम पानीमा पनि राम्रोसँग हुर्कने भएकाले तराई क्षेत्रका किसानका लागि उपयुक्त बाली मानिन्छ । यसको नियमित हेरचार गरेमा वर्षौंसम्म उत्पादन लिन सकिने भएकाले लागत पनि तुलनात्मक रूपमा कम पर्ने भट्टले बताउनुभयो ।
कृषिविज्ञका अनुसार शीतलचिनीमा भिटामिन, क्याल्सियम, आइरन, प्रोटिन प्रशस्त हुने भएकाले यसको उपयोगिता दिनप्रतिदिन बढ्दै गएको छ । यो बहुउपयोगी औषधीय तथा पोषणयुक्त बिरुवा हो । यसको पात, फूल, कोसा, बीउ र जरासमेत विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ । रासस











