ओइरास। पोर्चुगलले शुक्रबार जर्ज जेससलाई आफ्नो नयाँ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिले प्रतिक्रिया दिँदै उहाँले पोर्चुगलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई उपलब्ध भएमा टोलीमा बोलाउने बताउनुभएको छ । उहाँले आफूका लागि रोनाल्डो कहिल्यै समस्या नहुने बताउनुभएको छ।
पूर्व प्रशिक्षक रोबेर्टो मार्टिनेजको नेतृत्वमा यस ग्रीष्ममा भएको विश्वकपका क्रममा ४१ वर्षीय स्ट्राइकरको प्रदर्शनको आलोचना भएको थियो । पोर्चुगल स्पेनसँग अन्तिम १६ मा पराजित भएर बाहिरिएको थियो ।
रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप रहेको बताइसक्नुभएको छ । उहाँले अझै राष्ट्रिय टोलीबाट खेल्ने या नखेल्ने निर्णय गर्नुभएको छैन ।
“केही सीमाभित्र र राष्ट्रिय टोलीका लागि मलाई उत्तम लाग्ने अवस्थामा उहाँ खेलिरहने अवस्थामा भएमा म उहाँ र अन्य खेलाडीहरूलाई पनि टोलीमा समावेश गर्नेछु,” जेससले शुक्रबार पत्रकारसँगको साक्षात्कारका क्रममा भन्नुभयो ।
अनुभवी प्रशिक्षक मानिने ७१ वर्षीय जेससले अझै रोनाल्डोसँग कुरा नभएको तर उनीहरूले पूर्व म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका स्टारको खेल जीवनको भविष्यबारे छलफल गर्ने बताउनुभयो ।
“मैले अझै ‘क्रिस’सँग कुरा गरेको छैन । ‘क्रिस’ राष्ट्रिय टोली र मेरा लागि समस्या हुनुहुने छैन,” जेससले भन्नुभयो ।
उहाँले भन्नुभयो, “क्रिस पोर्चुगाली फुटबलको प्रतीक हुनुहुन्छ । उहाँ राष्ट्रिय टोलीको प्रतीक हुनुहुन्छ र इतिहासमा सदाका लागि रहनुहुनेछ ।”
“मलाई विगतमा उहाँसँग काम गर्न ठूलो खुशी मिलेको थियो । उहाँसँग काम गर्न सजिलो छ”, जेससले भन्नुभयो, “हामी दुईबीच उहाँले भविष्यमा के गर्न चाहनुहुन्छ भन्नेबारे कुराकानी हुनेछ।”
जेससले पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोसँग अल–नासरमा काम गर्नुभएको थियो भने मे महिनामा ‘साउदी प्रो लिग’को उपाधि जिताएर क्लबबाट बिदा हुनुभएको थियो ।
“मैले उहाँसँग एक वर्ष बिताएको छु। मलाई थाहा छ, रोनाल्डो अल–नासरमा नै खेलिरहन चाहनुहुन्छ,” नवनियुक्त पोर्चुगाली मुख्य प्रशिक्षक जेससले थप्नुभयो ।
“उहाँ सधैं मलाई भन्नुहुन्थ्यो, म आफ्नो करियर अल–नासरमा नै समाप्त गर्नेछु,” जेससले अगाडि भन्नुुभयो ।
सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा गर्दैछन् र सामान्य अवस्थामा जेससले त्यतिबेलासम्म पोर्चुगलको नेतृत्व गर्नुहुनेछ । (रासस/एएफपी)











