• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने

स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रातो भाले



बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचौं गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ ।

गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “स्वास्थ्य संस्थामा नियमितरूपमा गर्भ परीक्षण नगर्दा प्रसूतिको बेला आमा, बच्चाको ज्यानसमेत जाने जोखिम हुन्छ”, अध्यक्ष शर्माले भन्नुभयो, “गर्भवती, सुत्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।”

स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन् । रेकर्डसँगै गेडागुडीको बीउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन् । पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बीउ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाहसमेत दिइने बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताउनुभयो । “हामीले शुरुआती अवस्थामा पोषण झोलासहित गर्भवती अवस्थामा हुने परिवर्तनलगायतका विषयमा जानकारी गराउँछौँ”, पुनले भन्नुभयो, “सुत्केरी भएको स्वास्थ्य स्वयंसेविकाबाट खबर पाएपछि रातो भाले लगेर घरमै जाने कार्यक्रम छ ।” पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सुत्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू हुनेछ ।

दश लाख बढी जनसङ्ख्या रहेको गाउँपालिकामा रातो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि रु १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताउनुभयो । सुत्केरी प्रोत्साहन कार्यक्रमअन्तर्गत सुत्केरीलाई सचेतना प्रदान गर्न सुत्केरीलाई रातो भाले कार्यक्रम लागू गरिएको छ”, प्रशासकीय अधिकृत शर्माले भन्नुभयो, “यदि साकाहारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ ।”

स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाडौँ बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ ।