३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

कांग्रेसलाई कान्छारामको चाबी !

कांग्रेसलाई कान्छारामको चाबी !
अ+ अ-

काठमाडौँ: असार २२ गते दिउँसोतिर एउटा बडो कुरुप दृश्य देखियो काठमाडौँको चुनदेवीमा । कांग्रेसले नै सार्वजनिक गरेको त्यो दृश्यमा सानो कदका दुई जना नेता निकै फुर्तीसात अगाडि बढिरहेको देखिन्छ र अरु केही थान बृद्ध नेताहरुले सकि नसकि उनीहरुलाई पछ्याइरहेको भिडियोमा देखिन्छ ।

दृश्यका दुई फुर्तिला पात्र कांग्रेस नेता पूर्णबहादुर खड्का र कान्छाराम तामाङ हुन् । सुरुमा उनीहरु कता जान खोज्दैछन् भन्ने दुविधा हुन्छ तर, पछि भने एक काष्ठकलायुक्त ढोका खोल्न पुगेका हुन्छन् । ढोकैनेर पुगेपछि कान्छारामले दुई हातले एउटा चाबी निकालेर दिन्छन् र अर्का नेता पूर्णबहादुरले त्यही चाबीले ढोकाको ताला खोल्छन् ।

त्यतिन्जेल पनि केको ढोका र किन खोलिएको हो भन्नेमा अझै दुविधा नै देखिन्छ । किनभने त्यहाँ न कतै ब्यानर झुण्डाएको देखिन्छ र नत कुनै पर्चा पम्प्लेट नै राखिएको छ । अनि नेताहरुले पहिले पहिलेजस्तो रिबन काट्ने या ढोका खोल्ने गर्दा सजाइने कुनै तुल या ब्यानर पनि कतै टाँसिएको देखिँदैन ।

एकछिन पछि मात्र खुल्यो कि त्यो नेपाली कांग्रेसको इतर पक्ष भनिनेहरुले खोलेको सम्पर्क कार्यालय रहेछ । तर, उनीहरुकै भाषामा यो पार्टी कार्यालय चाहिँ होइन, किनभने उनीहरुले पार्टी कार्यालय खोलिहाल्ने बेला भैसकेको छैन ।

सबैभन्दा कुरुप दृश्य त पूर्णबहादुरले काठको ढोका खोल्दाको थियो । ढोका नजिकै पुगेपछि कान्छारामको चाबीले ताला खोल्दा त्यस वरपर उभिएका कृष्ण सिटौला, डा सशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतको उपस्थिति टिठलाग्दो देखिएको थियो ।

उनीहरु ढोकासँगसँगै उभिएका मात्र थिएनन्, बडो जोडले तालि पनि बजाएका थिए । हातले तालि बजाए पनि मुहारमा चमक भने थिएन । निधारमा गाँठा पारेर उनीहरुले पार्टीको इतर पक्ष बसेर छलफल गर्ने बासको जोहो गरेका थिए ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेका हुन् । त्यही समूहको त्यही कार्यालयको दृश्य हो यो ।

विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा समूहका नेताहरू जमघट र छलफल गर्न नेता खड्काको अगुवाइमा सोमबारदेखि सम्पर्क कार्यालय सञ्चालनमा आएको बताइएको छ । गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा समूह सहभागी थिएन ।

कांग्रेसले असोजमा १५औं महाधिवेशन गर्ने गरी क्रियाशील अद्यावधिक र नयाँ वितरणलाई तीव्रता दिइरहेका बेला खड्काको अगुवाइमा कांग्रेसभित्र समानान्तर गतिविधि अघि बढाउन सम्पर्क कार्यालय खुलेको छ । अब असोजसम्म केही होला नहोला पत्तो भएन, यदि भयो भने यो कार्यालय पनि गाभिएला अन्यथा यसले अर्काे नयाँ पार्टीको केन्द्रीय कार्यालयको स्वरुप धारणा गर्न पनि सक्दछ ।

कांग्रेसमा रमाइलो छ अहिले । न गरिखाने नत मरिजाने भनेजस्तो न अहिले संस्थापन भनिएको विशेष महाधिवेशन पक्षले पुरानाहरुका प्रस्ताव स्वीकार गर्ने र नत पुरानाहरुले विशेष महाधिवेशनले ल्याएकालाई सर्लक्कै पार्टी सभापति र सबै नेतृत्व मान्ने या स्वीकार्ने । अनि न पार्टी खोलेर जाने र नत संस्थापनका निर्णय मानेर जाने । यस्तै यस्तै अवस्थाबाट अघि बढेको कांग्रेसमा न नियमित महाधिवेशनको टुंगो लागेको छ र नत विशेष महाधिवेशनवालाहरुले सबैलाई समेटेर लैजान नै सकेका छन् ।

हिजो विशेष महाधिवेशनले निर्वाचन आयोग र सर्वाेच्च अदालतबाट मान्यता पाउँदा सभापति गगन थापा र सो पक्षले संसारै जितेजस्तो गर्यो । पुराना जति सबै खिया लागेका हुन् र उनीहरुबाट काम चल्दैन भन्ने नारा दिएको पार्टीले आम निर्वाचनमा सर्मनाक हार खानुपर्यो । यस्तो हार कि पार्टी सभापतिले पनि देशका सबै क्षेत्र चाहार्दै हिँड्दा पनि आफ्नो जित सुनिश्चित गर्न सकेनन् ।

शेरबहादुर देउवादाई गगनले टिकटै दिएनन् भने अरु नेताहरुमध्ये कतिले गगनको हाताबाट टिकट लिएर चुनावमा जान चाहेनन् । चुनावपछिको दृश्य धरहराको टुप्पोबाट पछि फर्केर रत्नपार्क हेर्दाजस्तै भयो । रास्वपाले दुई तिहाइको नजिक सिट सुरक्षित गरिरहँदा कांग्रेसको हालत ४० सिटसम्म पनि पुग्न सकेन । त्यसपछि तैँचुप मैचुपको अवस्था आयो । एकले अर्काको मुख हेर्ने र चित्त बुझाउने अवस्था आयो ।

जनताले प्रमुख प्रतिपक्षीको कुर्सीको व्यवस्था त गरे, तर संसदको त्यही रोष्टममा पनि भेट्न सकेका छैनन् । सरकारको समर्थन गरेको हो कि विरोध ? त्यो पनि जनताले बुझ्न सकेका छैनन् । बरु कहिले काहीँ भिष्मराज आङ्देम्बेले यसो दनक दिन्छन् र कताकति कांग्रेस देख्न पाएका छन् नागरिकले,नत्र पार्टी सभापतिका हिजोका दमदार भाषण र प्रजातन्त्र र नयाँ पुस्ताका पक्षमा दिने गरेका तर्कहरुले सरकारलाई औँलो ठड्याउन पनि सकेका छैनन् । त्यसैले जनता भन्दैछन्— कांग्रेस सत्तामा त छैन नै, किनभने त्यो हैसियत त दिइएकै होइन, तर बलियो विपक्षीका रुपमा पनि देख्न पाइएन ।

क्रियाशील सदस्यताको लफडा नयाँ होइन । हिजो पनि दुई महामन्त्री गगन र विश्वप्रकाशले त्यो काम समयमै र नियमानुसार नै गरिदिएको भए आज कांग्रेस यो हालतमा आइपुग्दैनथ्यो । जेनजी आन्दोलनका नाममा भएको यो महासंग्रामको साक्षी बसेर कांग्रेसले आफ्नै दल त खायो खायो, तर अब के प्रजातन्त्र बचाउन सक्ला त ? भन्ने प्रश्नमा पनि नाजवाफ हुनपर्ने अवस्थामा पुुगेको छ ।
हुँदा हुँदा अब कांग्रेस पार्टीलाई नै कान्छारामको चाबी चाहियो ।

उनी यस्तो पात्र हुन् जसलाई आफैँले बनाएको मन्त्रीबाट सभापति देउवाले नै बर्खास्त गर्नुपरेको थियो । आफूँ शेरबहादुर देउवाको विरुद्धमा चुनाव लड्ने र महाधिवेशनमा हराउने नारा समेत फलाकेका तिनै कान्छाराम अहिले देउवा पक्षकै कार्यालयको चाबी बनेका छन् । जसको, नेपाली कांग्रेसमा के कति त्याग, तपस्या, बलिदान, योगदान, व्यक्तिगत जेलनेल, संघर्ष र भोगाई आदि के छ भन्ने ब्याख्या यहाँ अहिले सम्भव छैन ।

संस्थापन पक्षले क्रियाशील सदस्यता अपडेट गर्न भन्यो यी अहिलेका इतर भनिएकाहरुले मानेनन् । कतिपय इतर तिनै गगनको हातबाट टिकट लिएर पनि चुनावमा गए । तर हारेपछि फेरि इतरतिरै लागे । त्यस्ता धेरै छन्, ती मध्येका एउटा पात्र प्रकाशशरण महत पनि हुन् । यस्तै यस्तै झुण्ड यो इतरवालामा धेरै छन् । तर पार्टीका क्रियाशिल मध्ये ९० प्रतिशत संस्थापनहरुकै पक्षमा उभिएर सदस्यता अपडेट गरेपछि अब यिनको काम के होला त ?

कि त उनीहरु नयाँ पार्टी नै खोल्दा हुन्छ किनभने अब निर्वाचन आयोग, सर्वाेच्च अदालतबाट गगन पक्षले वैधानिकता पाइनै सकेकाले नेपाली कांग्र्रेसको वैधानिकताको अर्काे कुुनै खोजी गरिरहनै परेन । होइन भने यो इतरले इदर उदर बाहेक अरु के गर्ने हो ? पार्टीका पुग नपुग एकलाख जति सदस्य लिएर गर्ने के हुन् ? स्थानीय चुनाव आउँदैछ, त्यसमा आफ्ना तर्फको उम्मेदबारीका लागि संस्थापन पक्षसँगै बार्गेनिङ गर्ने हुन् कि आफ्ना उम्मेदबार उठाउने हुन् ? कि त्यतिञ्जेल इदर उदरै गरिरख्ने हुन् ?

नत्र यिनीहरुको भर कान्छारामकै चाबी बाहेक केही नहुने निश्चित जस्तै देखिन्छ । अर्काे चुनावमा कान्छाराम पनि संस्थापन पक्षकै टिकटबाट चुनाव लड्न गए भने फेरि यिनीहरुको ताला खुल्न गाह्रै पर्ला । हुनत अहिले नै यो आंकलन अलिक छुचो पनि हुन सक्छ । तर, नियतीका पछि त कसको के लाग्छ र ? आखिर राजनीतिमा नभैदियोस् भन्ने नै हुने त हो । त्यसैले अब कार्यालयको भाडा तिरिदिने कान्छारामले भनेको मान्नु बाहेकको विकल्प यी पुरानाहरुमा पनि नरहन सक्छ ।