मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको सांस्कृतिक धरोहर, प्राचीन सम्पदा र राजकुलोको संवर्द्धन गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
विनियोजन विधेयक २०८३ माथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति योजना आयोग, प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश, मुख्य न्याधिवक्ता कार्यालय उपर छलफलमा उठेको प्रश्न जवाफ दिनुहुँदै उहाँले प्रदेशको विभिन्न जिल्लामा स्थापित प्रशासनिक संरचना घटाएर आव २०८३/८४ को लागि बहुवर्षीय र भौतिक पूर्वाधार विकास निर्माण कार्यमा रकम लगानीमा वृद्धि गरिने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले प्रदेशमा सुशासनको मापदण्ड अक्षरस पालना गर्ने प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने र प्रदेशको पायक पर्ने स्थानमा खेलकुद रङ्गशालाको साथै प्रादेशिक अस्पतालको स्तरोन्नति गरेर विपन्न नागरिकको स्वास्थ्य उपचार कार्यमा निरन्तरता दिइने बताउनुभयो ।
प्रदेश सरकारले आव २०८३/८४ को वार्षिक बजेटमा प्रदेशको विभिन्न जिल्लामा बसोबास गर्ने विपन्न दलित समुदायको एक हजार घरपरिवारलाई नयाँ आवास गृह निर्माण गरेर क्रमशः यसै आवभित्र ती परिवारलाई हस्तान्तरण गरिने उहाँको भनाइ छ ।
प्रदेशका १३ जिल्लामा बस्ने नागरिकहरूको परिवारमध्ये रोजागरी सिलसिलामा विदेशमा दुर्घटना परी मृत्यु भएका व्यक्तिको शव स्वदेशमा ल्याउने कार्यलाई प्रदेश सरकारले सङ्घीय सरकारको परराष्ट्र मन्त्रालयमार्फत समन्वय गर्ने र सो कार्यमा सम्बन्धित पीडित परिवारलाई अनुदान रकम उपलब्ध गराउने लक्ष्य राखेको मुख्यमन्त्री बानियाँले जानकारी दिनुभयो ।
उहाँले प्रदेशमा विपन्न दलित समुदायको विद्यार्थीहरूमध्ये सात जना दलित विद्यार्थीलाई चिकित्सक एमविविएस अध्ययनको लागि अब केही दिनभित्र नाम छनोट गरी सम्बन्धित मेडिकल कलेजमा भर्ना गरिने बताउनुभयो । रासस











