२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा



अ+ अ-

काठमाडौँ। इजिप्टले फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो ऐतिहासिक जित दर्ता गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

डलास स्टेडियममा शनिबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्टले विश्वकप इतिहासमा नयाँ अध्याय लेखेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा इजिप्टका कप्तान मोहम्मद सलाहसहित सबै प्रहारकर्ताले गोल गरे भने अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले पेनाल्टी चुकाए। होसाम अब्देलमाजिदले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै इजिप्टलाई ४–२ को जित दिलाए।

इजिप्टले खेलको १३औँ मिनेटमै अग्रता लिएको थियो। करिम हाफेजको सटीक क्रसमाथि इमाम आशौरले शक्तिशाली हेडमार्फत बल जाली चुमाउँदै टोलीलाई १–० को अग्रता दिलाए। जारी विश्वकपमा आशौरको यो दोस्रो गोल हो।

पहिलो हाफमा पछि परेको अस्ट्रेलियाले दोस्रो हाफमा खेलमा पुनरागमन गर्‍यो। ५५औँ मिनेटमा एडेन ओ’निलको फ्रिकिक क्लियर गर्ने क्रममा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आफ्नै पोस्टमा आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

त्यसपछि दुवै टोलीले जित निकाल्ने अवसर सिर्जना गरे पनि फिनिसिङमा सफल हुन सकेनन्। अतिरिक्त समयको अन्तिम चरणमा मोहम्मद सलाहले दिएको आकर्षक क्रसमाथि रामी राबियाले गरेको हेड प्रहारलाई अस्ट्रेलियाका गोलरक्षक प्याट्रिक बीचले उत्कृष्ट बचाउ गर्दै खेललाई पेनाल्टी सुटआउटतर्फ धकेले।

सुटआउटमा भने इजिप्टका खेलाडीहरूले उच्च संयमता देखाए। सलाह, उनका सहकर्मी र अन्तिम प्रहारकर्ता अब्देलमाजिदले गोल गर्दै टोलीलाई ऐतिहासिक सफलता दिलाए। अस्ट्रेलियाका दुई खेलाडीले प्रहार चुकाएपछि इजिप्ट विजयी बन्यो।

यो जितसँगै इजिप्टले पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। अब इजिप्टले जुलाई ७ मा हुने क्वार्टरफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिना वा प्रतियोगिताको आश्चर्यजनक टोली केप भर्डेमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।