१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ



अ+ अ-

सिरहा। सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा आज प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ ।

घटनामा एक भारतीय नागरिक प्रहरीको गोली लागेर घाइते भएका छन् भने अन्य केही कारोबारी फरार भएका छन् ।

लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा पुगेको प्रहरी टोलीले कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि  गोली प्रहार गरेका थिए । उक्त गोली कसैलाई नलागेको प्रहरीले जनाएको छ ।

आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । तीमध्ये एक गोली भारतको बिहार राज्य, मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको थियो । घाइते कलामलाई नियन्त्रणमा लिएर उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका अब्दुल कलाम उक्त समूहका मुख्य कारोबारी हुन् । उनीहरूले लामो समयदेखि भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागुऔषध तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले अब्दुलको साथबाट १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ । घटनामा संलग्न अन्य दुई÷तीन जना फरार रहेकाले उनीहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस