२४ भाद्र २०८३, बुधबार
,
Latest
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत



अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिक तथा उच्च शिक्षाको परीक्षा प्रणालीमा उल्लेखनीय सुधार भएको जनाएको छ ।

मन्त्रालयका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १२ तथा विश्वविद्यालयस्तरीय परीक्षाका नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेका छन्, जसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको छ ।

सेवा प्रवाहलाई छरितो र नतिजामुखी बनाउन विद्यार्थी भर्ना प्रक्रिया तथा परीक्षा प्रणाली सुधारका लागि एकीकृत कार्यतालिका बनाएर काम गर्नेदेखि डिजिटल सुशासनको अवधारणलाई प्रभावकारी कार्यान्वयनमा लगेको छ ।

विद्यार्थी भर्ना प्रक्रिया, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन एकीकृत कार्यतालिका लागू गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले बताउनुभयो  ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं २ समेटिएको शिक्षा मन्त्रालयअन्तर्गतको मुख्य काममा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले परीक्षा सम्पन्न भएको मितिले दुई महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने कार्य प्रारम्भ गर्ने लक्ष्य रहेको थियो ।

उच्च शिक्षातर्फ विश्वविद्यालय तथा सिटिइभिटीले पनि परीक्षा सम्पन्न भएको करिब दुई महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार काम गरिरहेका छन् । केही विश्वविद्यालयमा पदाधिकारी रिक्तताका कारण निर्णय कार्यान्वयनमा चुनौती देखिए पनि अधिकांश शैक्षिक संस्थाले कार्यपालिका अनुसार काम गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं २ बमोजिमको मुख्य १० कार्यको प्रगति विवरण मन्त्रालयले अद्यावधि गरेको हो । सोहीअनुसार एसइई २०८२ को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको छ । यसअघि नतिजा प्रकाशनमा लामो समय लाग्दा विद्यार्थी र अभिभावक अन्योलमा पर्ने गरेका थिए ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सम्पन्न भएको ४० दिनमै सार्वजनिक गरेको छ । अघिल्ला वर्षमा यही नतिजा प्रकाशन हुन करिब तीन महिना लाग्ने गरेको थियो । मन्त्रालयले यसलाई परीक्षा व्यवस्थापनमा आएको सकारात्मक परिवर्तनको उदाहरणका रूपमा प्रस्तुत गरेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

“डिजिटल सुशासन प्रवद्र्धनअन्तर्गत वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रक्रियालाई थप सहज बनाउन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपिआइ लिङ्क स्थापना गरिएको छ । यसबाट विद्यार्थीको भौतिक उपस्थितिको आवश्यकता घट्ने अपेक्षा गरिएको छ । हाल काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क प्रणालीसँग एपिआइ लिङ्क स्थापना भएको छ”, प्रवक्ता सापकोटाले भन्नुभयो ।

समकक्षता प्रमाणपत्रको ‘भेरिफिकेसन’ प्रक्रिया पनि छिटो बनाइएको उल्लेख गर्दै उहाँले आवश्यक कागजात पूरा भएका आवेदकलाई आवेदन दिएको दिनमै प्रमाणपत्र उपलब्ध गराउन थालिएको बताउनुभयो । उक्त कार्यका लागि यसअघि कम्तिमा दुईदेखि तीन दिन लाग्ने गरेको थियो ।

यसैबीच, शिक्षकहरूको क्षमता विकासका लागि ‘सिकाइ चौतारी’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । एपमार्फत हजारौँ शिक्षकले अनलाइन तालिम तथा अभिमुखीकरण प्राप्त गरिसकेका छन् ।

मन्त्रालयका अनुसार परीक्षा प्रणाली, डिजिटल सेवा तथा प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाउन सहयोग पुगेको छ । रासस