३० श्रावण २०८३, शनिबार
,
Latest
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड रुपैयाँ खर्च यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना अन्जु पन्त र सुमन कुमारको “ सागरै तरेर” सार्वजनिक बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी



अ+ अ-

मेलबर्न। अष्ट्रेलियाको मुख्य भूमिमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को तेस्रो केस पुष्टि भएपछि विज्ञहरूले देशको जैविक विविधतामाथि गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् ।

दक्षिण अष्ट्रेलिया राज्यमा तीन समुद्री चराको मृत्यु एच–फाइभ एन–वान सङ्क्रमणका कारण भएको पुष्टि भएको छ । यसअघि पश्चिमी अष्ट्रेलिया राज्यमा पनि सङ्क्रमणका घटना देखिएका थिए ।

अष्ट्रेलियाको डेकिन विश्वविद्यालयका प्राध्यापक युआन रिचीका अनुसार हालसम्म सङ्क्रमण सीमित देखिए पनि यसले अन्य वन्यजन्तु तथा पशुधनमा फैलिने सम्भावना रहेको छ ।

उहाँले अष्ट्रेलियाका धेरै स्थानीय प्रजातिको जनसङ्ख्या सानो, घट्दो वा सीमित भौगोलिक क्षेत्रमा केन्द्रित रहेकाले भाइरसले ती प्रजातिलाई विशेष जोखिममा पार्न सक्ने बताउनुभयो । उहाँका अनुसार ठूलो मात्रामा एकैपटक हुने मृत्युका घटनाले केही प्रजातिलाई अपरिवर्तनीय क्षतिसमेत पु¥याउन सक्छ ।

विश्वभर एच–फाइभ एन–वान सङ्क्रमणका कारण लाखौँ चराको मृत्यु भइसकेको छ भने सङ्क्रमित जनावरको शव खाने स्तनधारी जनावरहरूमा समेत सङ्क्रमण फैलिरहेको छ । रिचीले अष्ट्रेलियाका लोपोन्मुख तास्मानियन डेविल तथा क्वोलजस्ता मांसाहारी मार्सुपियल प्रजातिहरू पनि जोखिममा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

उहाँका अनुसार कङ्गारु, वालाबी, पोसम र ब्यान्डिकुटजस्ता जनावरहरू पनि सङ्क्रमित मासुसँग सम्पर्कमा आउन सक्ने भएकाले सङ्क्रमणको जोखिमबाट मुक्त छैनन् । उहाँले अष्ट्रेलियाली समुद्री सिंह तथा कालो हाँसको जनसङ्ख्याका लागि पनि यो भाइरस घातक हुन सक्ने बताउनुभएको छ ।

गत साता वैज्ञानिकहरूले अष्ट्रेलियाको बाह्य क्षेत्रअन्तर्गत पर्ने हर्ड टापुमा एच–फाइभ एन–वान सङ्क्रमणका कारण करिब १३ हजार दक्षिणी हात्ती सिलका बच्चा मरेको अनुमान सार्वजनिक गरेका थिए । उक्त भाइरस हर्ड र म्याकडोनाल्ड टापुका पेन्गुइन, फर सिल तथा समुद्री चरालगायत अन्य प्रजातिमा पनि फेला परेको छ ।

विज्ञहरूले सङ्क्रमणले एकल प्रजातिमा मात्र नभई सम्पूर्ण पारिस्थितिक प्रणालीमा असर पार्न सक्ने बताएका छन् । शिकारी प्रजातिमा सङ्क्रमण फैलिएमा शिकार प्रजातिको सङ्ख्या असन्तुलित रूपमा बढ्न सक्ने तथा जलचर पंक्षीहरूको ठूलो मात्रामा मृत्यु हुँदा जलस्रोतको गुणस्तरमा असर पर्नुका साथै माछाको व्यापक क्षति हुन सक्ने उनीहरूको भनाइ छ ।

अष्ट्रेलिया सरकारले मुख्य भूमिमा सङ्क्रमण पुष्टि हुनुअघि नै एच–फाइभ एन–वान विरुद्धको तयारी सुदृढ बनाउन ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो ।

अधिकारीहरूले बिरामी वा मृत अवस्थामा भेटिएका वन्यजन्तुबारे सम्बन्धित निकायलाई जानकारी गराउन तथा वन्यजन्तुसँग प्रत्यक्ष सम्पर्क नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । रासस