काठमाडौँ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य हाल खुला रहेको र त्यहाँबाट कच्चा तेल तथा प्राकृतिक ग्यासको ढुवानी सुचारु भएको बताउनुभएको छ ।
स्विट्जरल्याण्डको बर्गेनस्टकमा आयोजित अमेरिका–इरान वार्ताको पहिलो सत्रको समापनपछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति भेन्सले उक्त जानकारी दिनुभएको हो।
हर्मुज जलडमरूमध्यबाट इन्धनको प्रवाह सुचारु भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्यमा गिरावट आएको उहाँले उल्लेख गर्नुभयो ।
विश्वको कुल समुन्द्री तेल ढुवानीको करिव २० प्रतिशत हिस्सा ओगट्ने हर्मुज जलडमरूमध्यमा गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण गरेपछि तनाव बढेको थियो ।
त्यसपछि अमेरिकाले इरानतर्फ जाने र त्यहाँबाट आउने जहाजहरूमा समुन्द्री नाकाबन्दी लगाएको थियो भने इरानले पनि उक्त क्षेत्रमा आफ्नो नियन्त्रण कडा पारेको थियो । उपराष्ट्रपति भेन्सले इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निरीक्षकहरूलाई आफ्नो देशमा पुनः आमन्त्रण गर्न सहमति जनाएको समेत जानकारी दिनुभयो ।
कतार र पाकिस्तानको मध्यस्थतामा आईतवारदेखि शुरु भएको यस वार्तालाई गत बिहीवार हस्ताक्षरित इस्लामाबाद समझदारी पत्र पछिको पहिलो प्रत्यक्ष संवादका रूपमा हेरिएको छ । उपराष्ट्रपति भेन्सकाअनुसार अमेरिकी टोलीले इरानी, कतारी र पाकिस्तानी प्रतिनिधिहरूसँग मिलेर सकारात्मक प्रगति गरेको छ र आगामी दिनहरूमा प्राविधिक स्तरमा वार्ताहरू जारी रहनेछन् ।
इस्लामाबाद समझदारी पत्रअनुसार अमेरिका र इरानले लेबनानसहित सबै मोर्चाहरूमा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेका छन् ।
दुवै पक्ष आगामी अधिकतम ६० दिनभित्र अन्तिम शान्ति सम्झौतामा पुग्न र सोही अनुरूप वार्ता अघि बढाउन प्रतिवद्ध देखिएका छन् । उहाँले सफल अन्तिम सम्झौताका लागि मजबुत आधार तयार भएको विश्वास समेत व्यक्त गर्नुभयो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल











