नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाले वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकामा गाभ्न सिफारिस गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको १९औँ गाउँसभाले दुवै वडाका बासिन्दाले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । अब गाउँसभाबाट पारित निर्णय आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पठाइने गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
वडा नम्बर ६ र ७ का बासिन्दाले वर्षौँदेखि भौगोलिक विकटता तथा यातायात पहुँचको समस्याका कारण आफ्नै गाउँपालिकाको केन्द्र दुम्कीवास पुग्न कठिनाइ भोग्दै आएका छन् । त्रिवेणी–दुम्कीवास सडकखण्डको करिब आठ किलोमिटर सडक निर्माण हुन नसक्दा उनीहरूलाई आफ्नै पालिकाको सेवा लिन दाउन्ने हुँदै करिब ६० किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्याका कारण प्रदेश परिवर्तनको माग उठेको बताउनुभयो । “त्रिवेणी–दुम्कीवास सडक निर्माणका लागि पटक–पटक पहल गर्दा पनि काम अघि बढ्न सकेको छैन”, अध्यक्ष गिरीले भन्नुभयो, “जनताले सहज सेवा र पहुँच खोजेका हुन् । सडक निर्माणमा भएको ढिलाइले उनीहरूलाई वैकल्पिक उपाय खोज्न बाध्य बनाएको छ ।”
उहाँले प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष सडक निर्माणको विषय पटक–पटक उठाइएको भए पनि अपेक्षित प्रगति हुन नसकेको बताउनुभयो । “यो विषय केवल दुई वडाको मात्र होइन, गण्डकी प्रदेशको दक्षिणी प्रवेशद्वारसँग जोडिएको रणनीतिक महत्वको विषय हो”, उहाँले भन्नुभयो ।
वडा नम्बर ७ का अध्यक्ष उमेश कार्कीले स्थानीयवासीको मागका आधारमा गाउँसभामा प्रस्ताव लगिएको बताउनुभयो । “हामीले जनभावनाअनुसार प्रस्ताव गाउँसभामा प्रस्तुत गरेका हौँ”, उहाँले भन्नुभयो, “सडक सञ्चालन हुन सकेको भए प्रदेश परिवर्तनको कुरा नै उठ्ने थिएन । अहिले नागरिकलाई सेवा लिन सहज हुने विकल्प रोज्नुपर्ने अवस्था आएको छ ।”
स्थानीय तह पुनःसंरचनापछि साविक त्रिवेणी–सुस्ता गाविसको केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकामा र त्रिवेणीधाम आसपासका क्षेत्र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा परेका थिए । तर प्रशासनिक रूपमा विनयी त्रिवेणीमा रहे पनि वडा नम्बर ६ र ७ का बासिन्दाले आफ्नै पालिकाको केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।
गण्डकी प्रदेशको दक्षिणी नाकाका रूपमा परिचित त्रिवेणी क्षेत्र भारतसँग जोडिएको महत्वपूर्ण व्यापारिक तथा धार्मिक केन्द्र मानिन्छ । त्रिवेणी–दुम्कीवास सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको आयोजनामा समावेश गरेको छ । तर सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले निर्माण प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदै आएको छ ।
स्थानीयवासीले सडक निर्माण गरी आवागमन सहज नबनाइए प्रदेश परिवर्तनको मागलाई थप सशक्त बनाउने चेतावनी दिँदै आएका छन् । गाउँसभाबाट पारित पछिल्लो निर्णयले उक्त विषयलाई औपचारिक रूपमा प्रदेश र सङ्घीय सरकारसमक्ष पु¥याउने बाटो खुलेको छ । रासस











