चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ ।
रास्वपाले अब बन्द सत्र मङ्गलबार बिहान ७ बजेपछि सुरु हुने जनाएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान ७ बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्दसत्र स्थगित भएको हो ।
प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको हो। बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ ।
उहाँका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यसमा छलफल हुनेछ ।
सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ । कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि छलफल पनि हुनेछ ।
सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ भने उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिने छ ।
पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ । रासस











