कैलाली। केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बिदा दिने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।
गर्मीका कारण विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकाले त्यसको प्रतिकूल असरबाट बच्न र सुरक्षित रहन धनगढीभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा यही असार ९ गतेदेखि १२ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय भएको उपमहानगरपालिका, शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।
गर्मीका कारण विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेकाले वर्षे तथा हिउँदे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्था गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
साथै, उपमहानगरले शिक्षक, विद्यार्थी र अभिभावकलाई गर्मी तथा लु (तातो हावा) बाट बच्नका लागि सावधानीका उपायहरू अवलम्बन गर्नुहुन पनि अनुरोध गरेको छ । रासस











