काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहमाथि नेपालमा राजा चाहिन्छ भन्ने चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको जिकिर गर्नुभएको छ ।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
अध्यक्ष लिङदेनले बालेन्द्र साहले नेपालमा राजा ल्याउँछ भनेर जनताले राप्रपालाई भोट नदिई रास्वपालाई मत दिएको दाबी गर्नुभयो । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर जनताले भोट दिएकाले उनीहरुको चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी पनि सरकारलाई भएको उहाँको भनाई थियो ।
अध्यक्ष लिङदेनले भन्नुभयो,‘यो अवसर गुमाउनु भयो भने धोका तपाईको पार्टी र नेतृत्वलाई मात्रै हुने छैन । सिंगो देशलाई हुनेछ । त्यसकारण मेरोआग्रह छ यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस । यो पटकको मतपरिणाम हेर्दा कुन राजनीतिक दर्शनले काम गर्यो ? कुन राजनीतिक दलहरुको संगठनले काम ग¥यो ? यो एउटा यस्तो चुनाव भयो, जहाँ जहाँ राजनीतिक दलको संगठनले काम गरेन, पैसाले काम गरेन , आज झण्डै दुई तिहाई मत ल्याउने राजनीतिक दलले अहिले पनि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन । सबै वडामा, गाउँपालिकामा आफनो संगठन बनाईसकेको छैन । तर जनताले उसलाई झन्डै दु्इ तिहाई बहुमत दियो । आज जनता राजनीतिक दलहरुको भन्दा, राजनीतिक दल र संगठन भन्दा अरु एक कदम अगाडि सरेर निर्णय गर्न अग्रसर भएको छ । र यो जनताको विश्वासलाई निराशामा परिणत हुन नदिनुहोस भनेर म मेरो शुभकामना छ ।’
अध्यक्ष लिङदेनले रास्वपाले देश बनाउन पाएको अवसर गुमाए सिंगो मुलुकले धोका पाउने पनि बताउनु भयो ।







