१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग



अ+ अ-

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् ।

केही वर्ष अघिसम्म न्यून विदेशी पर्यटकमात्रै भ्रमणमा आउने यस पदमार्गमा पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको आगमनसमेत बढ्न थालेको इटाली आधार शिविरमा होटल व्यवसाय गर्दै आउनुभएका हरिप्रसाद तिलिजाले बताउनुभयो । “धेरै दिनको यात्रा गर्नुपर्ने भएकाले यो क्षेत्र विदेशी पर्यटकको रोजाइमा मात्रै पर्ने गरेको थियो, पछिल्लो समय नेपाली पर्यटक पनि आउन थालेका छन् । पदमार्ग, झोलुङ्गे पुललगायतको पूर्वाधार बन्न थालेपछि पदयात्रामा आउने पर्यटकलाई राहत मिलेको छ”, तिलिजाले भन्नुभयो ।

धौलागिरि पदमार्गमा पूर्वाधार बन्दै गएपछि हत्केलामा ज्यान राखेर भिरमा हिँड्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ भने पदयात्रा पनि सुरक्षित हुन थालेको छ । दशैँको बिदाको समयमा एक साता लामो पदयात्रा गरी धौलागिरि आधार शिविरमा पुग्नुभएकी धौलागिरि गाउँपालिका–४ खाम्लाकी केसरी शर्माले पर्यटन विकासको अथाह सम्भावना रहेर पनि यो क्षेत्र प्रचारप्रसारको कारण ओझेलमा परेको अनुभव सुनाउनुभयो ।

“धौलागिरि पदमार्ग साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र हो, यसको प्रचारप्रसार र अत्यावश्यक पदमार्गलगायतका पूर्वाधार निर्माणलाई पूर्णताः दिनतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ”, म्याग्देली विद्यार्थी परिवार काठमाडाँैकी अध्यक्षसमेत रहनुभएकी शर्माले भन्नुभयो ।

पदमार्गअन्तर्गत नाउराको भिर, इटाली क्याम्पदेखि स्विस क्याम्प जाने पदमार्ग र जापानी क्याम्पदेखि आधार शिविरसम्मको ग्लासियर क्षेत्र पदयात्राको लागि अनौठो र साहसिक भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय पदमार्गअन्तर्गत सबैभन्दा जोखिमयुक्त रहेको नाउराको भिरदेखि बगर, दोभान, सल्लाघारी, इटाली बेस क्याम्प हुँदै स्विस क्याम्पसम्मको पदमार्गलाई स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारमार्फत प्राप्त भएको रु ६५ लाख बढी बजेटबाट करीब १२ किलोमिटर पदमार्गलाई निर्माण र मर्मत गरिएको हो ।

भिर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । उहाँले अझै पनि अप्ठ्यारा ठाउँमा पदमार्ग र खोलामा झोलुङ्गे पुल बनाउनको लागि पहल भइरहेको बताउनुभयो । पदमार्ग निर्माणसँगै धौलागिरि आधार शिविर र चक्रीय धौलागिरि र हिमाल आरोहणको लागि जाने पर्यटकलाई राहत भएको छ ।

जोखिमपूर्ण पदमार्ग र सञ्चारको पहुँच नभएको कारण आधार शिविर जानको लागि पर्यटकले हेलिकप्टरको प्रयोग गर्दै आएका छन् । आरोहणमा जाने अधिकांश पर्यटक हेलिकप्टरमार्फत जाने भए पनि धौलागिरिको फन्को लगाउने र आधार शिविर पुग्ने पर्यटक भने पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् ।

धौलागिरि पदमार्गमा मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृष्य पदयात्राको मुख्य आकर्षण रहेको छ । ग्लेसियर क्षेत्रमा रहेका हिमतालसमेत पर्यटकको आकर्षण बन्ने गरेका छन् ।