१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

‘बिक्नै छाडे बाँसका डोका’

‘बिक्नै छाडे बाँसका डोका’
अ अ+ अ-

सिन्धुली । बाँसका डोकाको प्रयोग पछिल्लो समयमा कम हुँदै गएको छ । बाँसका डोका मुख्यतः खेतीपातीका काममा प्रयोग हुने गर्दछ । बाँसको चोयाका डोकाको प्रयोगमा कमी हुन थालेसँगै धेरैको जीविकोपार्जनमा समेत असर पर्दै आएको छ । यस्ता डोका विशेषगरी घाँस, दाउरा, पत्कर तथा पशुको मल बोक्न प्रयोग गरिन्छ । विगतको समय यस्तो थियो कि परम्परागतरुपमा बाँसबाट डोका बुनाइबाट राम्रो आम्दामी गर्नेहरु पनि थिए । अहिले आम्दानी नै घटेपछि यस्को कारोवार नै छाड्नुपर्ने अवस्था आएको बताइएको छ ।

कमलामाई नगरपालिका– ९ का गोपीप्रसाद न्यौपानेले बाँसका डोका बिक्री गर्न थालेको वर्षौं भयो । विगतका तुलनामा बाँसजन्य घरेलु तथा कृषिका लागि प्रयोग हुने सामग्रीको कारोवारमा निकै कमी भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “केही वर्षअघिसम्म डोका, नाङ्लो, चाल्ना, सोली, डालोलगायतका सामग्री यहाँ राख्ने ठाउँ हुँदैन थियो, राम्रै बिक्ने गर्दथ्यो जसबाट मैले घर चलाउँदै आएको थिएँ । अहिले त डोका बिक्नै छाडे अन्य सामग्री पनि बिक्दैनन् घर खर्च चलाउन मुस्किल छ ।”

केही वर्ष पहिलासम्म यहाँ बाँसबाट बनाइएका सोली, नाङ्ला, चाल्ना, डाला, डोकाको कारोवार राम्रो हुने गरेको अनुभव उहाँसँग छ । त्यति मात्र हैन बाँसजन्य उत्पादन सामग्रीबाट घर खर्च राम्रैसँग धान्नुभएका गोपीप्रसादलाई अहिले डोका नबिक्दा चिन्ता थपिएको छ । हातले देखाउँदै उहाँले भन्नुभयो, “हेर्नुस यो गोदाम पूरै भरिएको छ, अरु राख्ने ठाउँ छैन तर के गर्नु गोजी खाली छ, गोदाम रित्तिएर गोजी कहिले भरिएला ग्राहक कुरेर बसिरहेको छु ।”

उहाँले भन्नुभयो, “हिजोआज त बोरामा मल हालेर ट्रयाक्टरमा लैजान्छन्, डोका किन्नै छाडे, धानको पनि भुस उडाउन पर्दैन नाङ्ला पनि बिक्नै छाडे, आधुनिक समयमा पुर्खौली संस्कृति लोप हुँदै जान थाले । गोदामको भाडा तिर्नै नसकिने भएकोले अर्को के व्यवसाय गर्ने भनी सोच्दैछु ।”

अहिले डोको बुन्नेले रु २८० मा डोका छाडिदिएर जान्छन् । बजारमा डोकाको मूल्य ३०० पर्छ । उहाँले आफूले पनि रु २९० देखि ३०० सम्ममा बिक्री गर्ने गरेको सुनाउनुभयो । दुई वर्षदेखि डोका तथा अन्य सामग्रीको बिक्री वितरणमा कमी हँुदै आएको गोपीप्रसादको भनाइ छ । मासिक १० देखि १५ हजारसम्म आम्दानी हुने गरेकामा अहिले आम्दानी हुनै छाडेको छ ।

विगतमा डोको बुन्नेले एक हप्तामा रु तीन हजारसम्म लैजान्थे । कमलामाई नगरपालिका– ११ बाट सबैभन्दा बढी डोका बुनेर बिक्री गर्न भिमान बजारमा आउने गर्दछन् । खेतीपातीको मौसममा सबैभन्दा बढी डोका आउथे ।
यस्तै भिमान निवासी रामप्यारी विश्वकर्माले डोकाको कारोवारमा कमी आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आफूहरु बुहारी हुँदा बिहान भाले नबास्दै डोकामा पानी बोक्नु पर्दथ्यो तर अहिलेका बुहारीलाई पानी बोक्नु पर्दैन, घरघरमा पानीका धार छन्, न घाँस न दाउरा गर्नुपर्छ त्यसैले पनि डोकाको प्रयोग घट्दै गएको छ ।”

हिजो डोकामा सामान बोक्नुपर्ने बाध्यता थियो अहिले गाडी तथा ट्रयाक्टरले घरदेखि खेतखेतदेखि घर र जङ्गलबाट पनि दाउरा ट्रयाक्टरमा नै ल्याउन थाले पहिलापहिला बाँस बिक्री नहुने गर्दा बाँसबाट घरायसी तथा कृषि प्रयोजनका लागि बाँसजन्य सामग्री बनाउने गरेकामा अहिले बाँस गाउँगाउँबाटै बिक्री हुन थालेको छ । झाङबाटै प्रतिघना ७० देखि ९० रुपैयाँसम्म तिरेर व्यवसायीले लैजाने गरेका छन् । यसले गर्दा पनि बाँसजन्य सामग्री विस्तारै लोप हुँदै गएको कमलामाई नगरपालिका– ९ का दिनेश न्यौपानेले बताउनुभयो । आफू बाल्यकाल हुँदा बाँसबाट बुनेका घुम र छत्री वर्षामा पानीबाट भिजिन्छ भनेर ओड्ने गरेकामा अहिले घुम र छत्री छिटफुटरुपमा मात्र देखिने गरेको उहाँको भनाइ छ ।

बाँसजन्य सामग्री ग्रामीण क्षेत्रमा अझै पनि प्रयोगमा नै हुँदै आएको भए पनि जिल्लाका सदरमुकाम, कमला खोच तथा समतल फाँट भएका स्थानमा भने यस्ता सामग्रीको प्रयोगमा कमी हुँदै आएको व्यवसायी बताउँछन् । घरदेखि खेतबारीसम्म सडक सञ्जाल र आधुनिक घरको निर्माण भएसँगै विस्तारै मान्द्रा पनि प्रयोगमा कमी हुँदै आएको छ ।