१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदमार्गमा १५ करोडको प्रविधिसहितको उद्धार केन्द्र, यसले के गर्छ काम



अ+ अ-

पोखरा । आरोहणको दृष्टिले जेठो अन्नपूर्ण हिमालतर्फ जाने पदमार्गमा पहिलोपटक प्रविधिसहितको उद्धार केन्द्र स्थापना गरिएको छ ।

अन्नपूर्ण आधार शिविर जाने सबैभन्दा पछिल्लो मुख्य प्रवेशद्वार माछापुच्छ« आधार शिविरमा कोरियन टेलिकमको सहयोगमा केन्द्र सञ्चालनमा आएको हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको यस पदयात्रा मार्गमा हुने समस्यालाई दृष्टिगत गरी उद्धार केन्द्र सञ्चालनमा ल्याइएको अन्नपूर्ण गाउँपालिका कास्कीका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार करीब रु १५ करोड बराबरको लागतमा बनेको उद्धार केन्द्रमा अत्याधुनिक प्रविधिको ड्रोन राखिएको छ । आसपासका क्षेत्रमा पर्यटक हराउने, हिमपहिरोमा पर्ने लगायतका समस्या जानकारी हुनासाथ उक्त ड्रोनलाई उडाएर त्यसैमार्फत सूचना प्राप्त गर्न सकिने र त्यसैका आधारमा तत्काल उद्धारका लागि जनशक्ति परिचालन गर्न सकिन्छ ।

पौडेलका अनुसार उक्त ड्रोनलाई माछापुच्छ आधार शिविरदेखि अन्नपूर्ण आधार शिविर र यस आसपासका क्षेत्रमा सूचनाका लागि पठाउन सकिने र यसले एकपटकमा १० किलोग्राम बराबरको औषधिसमेत लिएर जान सक्छ ।

पदयात्रा पर्यटनका लागि स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएको यस क्षेत्रमा अघिल्लो वर्ष मात्रै स्वदेशी एवं विदेशी गरी ९८ हजार पर्यटक पुगेका थिए । ती पर्यटकमध्ये १३० जना समस्यामा परेकामा सात जनाको मृत्यु भएको थियो । उद्धार केन्द्र सञ्चालनसँगै यस क्षेत्रमा आउने पर्यटकलाई थप सुरक्षाको प्रत्याभूति हुने अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताउनुभयो ।

पर्यटकको सुरक्षाका लागि गाउँपालिका पदयात्रा मार्गको व्यवस्थापन लगायतका विषयलाई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । विश्व इतिहासमा नै पहिलोपटक सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोेगको अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका थिए । अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर छ ।

त्यसपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमालमा आरोहण शुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा लिइन्छ । आरोहणको जेठो हिमाल र यस क्षेत्रको पदयात्रासहितको समग्र पर्यटन प्रवद्र्धनका लागि विगत दुई वर्षयता अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव गरिँदै आएइको छ ।

महोत्सव आयोजक समितिकै सक्रियतामा अन्नपूर्ण आधार शिविरमा लगभग रु १३ लाखको लागतमा मौरिस हर्जोगको शालिक स्थापना गरिसकिएको छ । हर्जोगको अर्धकदको शालिक समुद्री सतहबाट चार हजार १३० मिटर उचाइस्थित अन्नपूर्ण आधार शिविरमा राखिएको हो । लियोन फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।

पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविर पुग्ने पहिलो पदयात्री भने एरिक सिप्टन हुन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्रामा जान्छन् । त्यसको लगभग १० प्रतिशत हिमाल आरोहण गर्न जाने गर्छन् । अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर आठ हजार ८४८ मिटर अग्लो सगरमाथा सर्वप्रथम तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो ।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम छ । तर आरोहणका दृष्टिले कठिन हिमाल भएकाले अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्याति प्राप्त गर्न नसके पनि यसले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताउनुभयो ।

लगभग ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा भेडी गोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा पर्यटक बस्न बाध्य हुन्थे । पछिल्लो तीन दशकयता पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ वटा होटेल सञ्चालनमा छन् । यस क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरी प्रविधियुक्त उद्धार केन्द्र सञ्चालनमा ल्याइनुले यहाँ पर्यटकको आकर्षण अझै बढ्ने विश्वास लिएको स्थानीय पर्यटन व्यवसायीले बताए ।