२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिर्के खोला वरपरका १६० संरचना हटाइयो



अ+ अ-

कास्की। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी १६० संरचना हटाएको छ ।

यही जेठ १० गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो । महानगरले फेवाताल संरक्षणसँग जोडिएको फिर्केखोला सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ ।

पोखराको वडा नं १८ को अँधेरीकुनादेखि सुरु भएर वडा नं २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं ६ गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्केखोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

यसैगरी महानगरले फिर्के खोलाघरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्र आफैँ हटाउन आग्रह गरेको छ । खोलाघर सफाइबाट निस्किएका भग्नावशेष व्यवस्थापनका लागि स्स्काभेटर, जेसिबी तथा महानगरीय प्रहरी बल परिचालन गरिएको छ ।

महानगरपालिकाले फिर्केखोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै १० दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने कार्य बन्द गर्न चेतावनी दिएको छ । अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी महानगरले फिर्केखोला संरक्षणका लागि महानगरले भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० अनुसार खोलाको मापदण्ड १० मिटरबाट घटाएर छ मिटर कायम गरेकाले उक्त क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्न नगरवासीलाई आग्रह गरिएको छ ।

“महानगरपालिकाले फिर्केखोला कोरिडोर निर्माण परियोजना र मापदण्डभित्र बनेका संरचनाबारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्नेछ । फिर्केको मापदण्डभित्र कुनै पनि संरचना बनाउने गैरकानुनी हुन्छ”, नगर प्रमुख आचार्यले भन्नुभयो ।

फिर्केखोलामा बढ्दो अतिक्रमण, फोहर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोलाघरका संरचना हटाएको हो । अतिक्रमित संरचना हटाएपछि फिर्केको दायाँबायाँनै फुट ट्रयाक निर्माण गर्ने योजना महानगरको छ । रासस