७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट महत्वाकांक्षी र कार्यान्वयनमा चुनौतीपूर्ण छः राप्रपा प्रमुख सचेतक ओली



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी रहेको र यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले बजेटले मुलुकको यथार्थ धरातललाई सम्बोधन गर्न नसकेको आशंका व्यक्त गर्नुभयो ।

प्रमुख सचेतक ओलीले सरकारले आन्तरिक स्रोत परिचालनमा पर्याप्त ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । वैदेशिक ऋणको तुलनामा आन्तरिक ऋणको ब्याजदर उच्च हुने उल्लेख गर्दै उहाँले यसले देशको अर्थतन्त्रलाई थप जोखिममा पार्न सक्ने बताउनु भयो ।

युवा स्वरोजगार, सुकुम्वासी समस्या र शिक्षा क्षेत्रका बारेमा बोल्दै ओलीले सरकारका नीतिहरू पुरानै ढर्राका रहेको आरोप लगाउनु भयो ।

श्रम र खेलकुद जस्ता युवाहरूसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा न्युन बजेट विनियोजन गरिएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।

सुकुम्वासी व्यवस्थापन र सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको उद्घोष सकारात्मक सुनिए पनि राज्यसँग त्यसका लागि पर्याप्त स्रोत नभएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘सरकारले आन्तरिक आय वृद्धि गर्ने ठोस योजना ल्याउन सकेको छैन, जसले गर्दा बजेट कार्यान्वयनमा विश्वासको संकट पैदा हुने देखिन्छ ।

सडक निर्माणमा भइरहेको लापर्बाही र अनियमितताको गम्भीर अध्ययन हुन जरुरी छ । सडक मर्मतका लागि छुट्याइएको २८ अर्ब रुपैयाँले खाल्डाखुल्डी र धुलोको समस्या समाधान गरी नागरिकलाई राहत दिनुपर्छ ।’

पूर्वाधार विकासका सन्दर्भमा ओलीले ‘एशियन हाइवे’ को निर्माण कार्य गुणस्तरहीन र असुरक्षित रहेको टिप्पणी गर्नुभयो। विशेषगरी झापा खण्डमा भइरहेको निर्माण कार्य दिगो नहुने आशंका व्यक्त गर्नुभयो ।

यद्यपि, ऊर्जा क्षेत्रमा गरिएको बजेट विनियोजनलाई भने उहाँले सकारात्मक कदमका रूपमा लिनुभएको छ । ऊर्जा क्षेत्रले रोजगारी सिर्जना र आर्थिक विकासमा कस्तो प्रभाव पार्छ भन्ने कुरा सरकारको कार्यक्षमतामा निर्भर रहने उहाँको भनाइ छ ।

झन्डै २२ खर्बको हाराहारीमा रहेको भनिएको यो बजेटको आकार मुलुकको क्षमताभन्दा ठूलो देखिएकाले यसले सर्वसाधारणमा निराशा मात्र थप्न सक्ने चेतावनी समेत उहाँले दिनुभयो ।–न्युज एजेन्सी नेपाल