• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कुखुरा फार्मले बदलिदियो सदाको दिनचर्या



लहान । कुनै बेला वैदेशिक रोजगारीमै आफू र परिवारको भविष्य देखेर विदेशिएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका रविन सदा अहिले घरमै कुखुरापालनमा रमाइरहनुभएको छ ।

घर नजीकै खाली रहेको जग्गामा उहाँको कुखुरा फार्म छ । कुखुरापालनबाटै राम्रो आम्दानी हुन थालेपछि पैंतीस वर्षीय सदाले अब विदेश जाने सोच नै त्याग्नु भएको छ । काम गर्न पटक पटक मलेसिया र साउदी अरब जानुभएका सदा विदेशमा जस्तैे मिहिनेत स्वदेशमै गर्न सकिए कुखुरा पालेरै पनि मनग्ये कमाउन सकिने बताउनुहुन्छ ।

“विदेशमा धेरै दःुख कष्ट झेलें, कहिले मिहिनेत अनुसारको पैसा नपाउने त कहिले अनावश्यक झमेलाहरु खेप्नुपर्ने,” उहाँले भन्नुभयो – “अब घरमै परिवारसँग बसेर आम्दानी गर्ने सोचका साथ कुखुरा फार्म सञ्चालन गरेको छु ।”

करीब ६० हजार रुपैयाँ खर्चिएर घर नजीकै रहेको आफ्नै पाँच धुर जग्गामा बनाइएको उहाँको कुखुरा फार्ममा अहिले तीन÷तीन किलोका १२० वटा ब्रोइलर कुखुरा छन् ।

थोरै लगानी र छोटो समयमै राम्रो आम्दानी कमाउन सकिने देखेपछि ब्रोइलर कुुखुरापालनमा लाग्नुभएका सदाले भन्नुभयो – “कुखुरा फार्मबाट मासिक करीब रु ५० हजार कमाइ भइरहेको छ । यसले कुखुरा फार्म सञ्चालन गर्न मलाई थप उत्साह मिलेको छ । परिवारका सबै सदस्यसँगै बस्नुको आनन्द त छँदैछ, त्यसमाथि घरमै मनग्ये आम्दानी भइरहेकाले जीवन नै परिवर्तन भएको अनुभूति भइरहेको छ ।”

आफूमा आएको यस्तो परिवर्तनमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रको ठूलो योगदान रहेको रविन बताउनुहुन्छ । द फ्रिडम फण्डको सहयोगमा केन्द्रले हरवाचरवालाई लक्ष्य गरी सञ्चालन गरेको कुखुरापालन तालीममा उहाँ सहभागी हुनुुभएको थियो । उहाँलाई कुखुरा फार्म सञ्चालन गर्न केन्द्रले आर्थिक सहयोगसमेत गरेको छ ।

“कुनै व्यवसाय गर्छु भन्ने सोच त पहिल्यै थियो तर, कसरी गर्ने भन्ने आँट आएको थिएन,” रविनले भन्नुभयो – “श्रीपुर्राजले गाउँमै सञ्चालन गरेको कुखुरापालन तालीममा बसेपछि व्यावसायिक रुपम कुखुरापालन गर्ने हौसला मिलेको हो ।”

करीब रु ७० हजारको पुँजीमा एक वर्ष अघिदेखि व्यावसायिक कुखुरा फार्म सञ्चालन गर्दै आउनुभएका सदाले अहिले पुँजी थपेर रु २ लाख पु¥याउनुभएको छ । श्रीमतीसहित परिवारका अन्य सदस्यहरुबाट गतिलो साथ पाइरहनुभएका सदा भन्नुहुन्छ – “कुखुरा फार्म सञ्चालनमा ल्याएपछि आफ्नो दिनचर्या समेत परिवर्तन भएको महशुस भइरहेको छ ।”

पहिला कुनै काम नपाएर गाउँका साथीभाइसँग जुवातास खेलेर व्यर्थमा समय फालेकामा उहाँलाई पछुतो लाग्छ । त्यसैले समयको सदुपयोग गर्न उहाँ अरुलाई सुझाव दिनुहुन्छ ।

अन्य व्यवसायमा भन्दा ब्रोइलर कुखुराका लागि बजारको अभाव नभएको अनुभव सुनाउँदै सदाले भन्नुभयो – “आफूले कुखुरा फार्म उत्पादन गरेको ब्रोइलर कुखुरा किन्न गाउँका सर्वसाधारणदेखि मासु पसल सञ्चालकसम्म फार्ममै आउने गरेका छन् ।” यसले गर्दा बिक्री गर्न कुखुरा बजार लैजानुपर्ने बाध्यता उहाँलाई छैन ।

अरु व्यवसायभन्दा ब्रोइलर कुखुरा पाल्न उहाँलाई सजिलो लाग्छ । यस व्यवसायमा तत्काल प्रतिफल पाइन्छ । “अहिले कुखुराको चल्ला हालियो भने एक÷डेढ महिनामा एक÷डेढ किलोको भइहाल्छ,” उहाँ भन्नुहुन्छ – “तुरुन्तै खान पनि पाइन्छ र बेच्न पनि सकिन्छ । त्यसैले सन्तुष्ट छ ।”

केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी भन्नुहुन्छ – “रविनले पछ्याएको बाटोलाई अरु युवाले पनि अनुुसरण गरे सामाजिक विकृति हट्नुको साथै पैसा कमाउनकै लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य हुनसक्छ ।” खासगरी हरवा चरवा तथा विपन्न परिवारका युवालाई लक्ष्य गरी केन्द्रले विभिन्न शीपमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।