• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल

उपत्यकाभित्र अथाह मात्रामा प्राकृतिक ग्याँसको भण्डार, अन्वेषणमा जुट्दै सरकार



काठमाडौं । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ । एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी भइरहेको छ ।

अन्वेषणका क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्याँसको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ । विभागले यसअघि पनि मिथेन ग्याँस अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्रभित्र भए पनि स्थान भने फरक हुनेछ । यसअघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरिसकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख श्रेष्ठले चालू आर्थिक वर्ष २०७६/७७ भित्र अन्वेषण कार्यक्रम सकाउने लक्ष्यका साथ कामको तयारी भइरहेको बताए ।

विभागको अभिलेखअनुसार सन् १९७८ मा नै काठमाडौं उपत्यकामा मिथेन ग्याँस रहेको पत्ता लागेको थियो । सो अध्ययन अनुसन्धान जापानी सहयोग निकाय (जाइका)को सहयोगमा विभागले गरेको थियो । विभागको अभिलेखअनुसार जापानी विशेषज्ञ टोलीले बालकुमारी, शंखमूलसहित भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु हस्पिटल, कुलेश्वर, विष्णुमती किनार, भृकुटीमण्डप लगायत उपत्यकाका विभिन्न १४ स्थानमा सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन गरेको थियो ।

सो अध्ययन प्रतिवेदनमा मिथेन ग्याँस उत्पादन गर्न सकिने भन्दै उत्खननको सिफारिससमेत गरिएको थियो । सो अध्ययन प्रतिवेदनमा उपत्यकामा विभिन्न १४ स्थान ग्याँस छ भन्ने तथ्य सर्वजनिक गरेको भए पनि नेपाल सरकारले उत्खनन गरेर प्रयोगमा भने ल्याउन सकेन । श्रेष्ठले नेपाल सरकारसँग स्रोत साधन नहुँदा उपत्यकामा भएको मिथेन ग्याँस उत्खनन गर्न नसकेको बताए । जमिनको सतहमुनि रहेको मिथेन ग्याँस उत्खनन गर्न ठूलो लगानी, आधुनिक प्रविधिको आवश्यक पर्छ ।

श्रेष्ठका अनुसार यसअघि जाइकाले गरेको प्राकृतिक ग्याँस अन्वेषण क्षेत्रमा फेरि अन्वेषण गरिदिन सरकारले आग्रह गरेको हो । अन्वेषणको सहयोगका लागि अर्थ मन्त्रालयमार्फत १४ चैत २०७५ मा विभागीय निर्णयअनुसार पत्र पठाइएको थियो । विभागले जाइकाको सहयोगमा तीनवटा बल्क गरी पहिले नै अध्ययन गरिसकेको थियो । सोबेला त्रिपुरेश्वर, कोटेश्वर र मनहरा बल्कमा गरेको थियो । २०३७ सालदेखि २०४५ सम्मका त्रिपुरेश्वर क्षेत्रका सात ठाउँमा गरेको अध्ययनले ४ किलोमिटर क्षेत्रफलमा ८५ मिटर मोटाइमा ३५ प्रतिशत ग्याँस पाएको थियो ।

त्रिपुरेश्वरमा ३ सय ५ मिटर गहिराइमा ८३.२५ मिटर ग्याँस भेटिएको थियो । त्यसलगतै २०३९/४० मा टेकु हस्पिटलनजिकै ३ सय १ मिटर ग्रिलिङ गर्दा ८४.४ मिटर ग्याँसको तह पाइएको थियो । सोही वर्ष कुलेश्वरमा ३ सय २ मिटरको गहिराइमा १०२.३८ मिटर ग्याँसको तह पाएको थियो । २०४२/४३ सालमा गरेको अध्ययनमा ह्युमत ३ सय मिटरभित्र ७४.३४ मिटर ग्याँस भेटिएको थियो । सो वर्षमा ह्युमतकै अर्को ठाउँमा ४ सय ५४.४ मिटर खन्दा १३४ मिटर ग्याँसको तह भेटिएको थियो । यसैगरी, २०४४/४५ मा भृकुटीमण्डपमा ५ सय ७०.१३ मिटरमा २१८.३३ मिटर मोटाइ ग्याँस भेटिएको थियो ।

यसैगरी २०४४/४५ मै टेकुको मसानमा ३ सय ५८.८ मिटर ग्रिलिङ गर्दा ११३.५१ मिटरमा ग्याँस भेटिएको थियो । दोस्रो चरणअन्तर्गत कोटेश्वर तीनकुने खण्डमा २०४५ सालदेखि २०४९ सालसम्म चार ठाउँमा अन्वेषण गर्दा १४ किलोमिटर वरपर ग्याँस हुन सक्ने अनुमान गरिएको थियो । सो क्षेत्रमा लगभग १४ सय मिटरमा १ सय १९ मिटर मोटाइमा ग्याँस पाइएको थियो । सो अध्ययनको क्रममा २०४५/४७ सालमा शंखमूलमा ४ सय ५५ मिटर गहिराइमा १७२ मिटर ग्याँस भेटिएको थियो । २०४७/४८ मा गरेको अन्वेषणमा कोटेश्वरमा ३ सय मिटर ग्रिलिङ गर्दा १ यस १६ मिटरको ग्याँस पाइएको थियो ।

यसैगरी, सो वर्ष २०४८/४९ मा जडीबुटीमा गरेको अन्वेषणमा ३ सय मिटर खन्दा ८९.२३ मिटर ग्याँस फेला परेको थियो । यसैगरी, तेस्रो चरणमा विभागले मनहरा–इमाडोल क्षेत्रको ८ किलोमिटर वरपर ग्याँस अन्वेषण गरेको थियो । जसअन्तर्गत टीकाथली ललितपुरमा २०४९/५० सालमा गरेको मिथेन ग्याँसको अन्वेषणबाट ९५ मिटर ग्याँस भेटिएको अध्ययन प्रतिवेदन उल्लेख छ । यति ग्याँस ३ सय मिटरभित्र नै पाइएको थियो । यसैगरी, सोही वर्ष बालकुमारीमा ३ सय मिटरभित्र ८९.८ मिटर ग्याँस भेटिएको थियो ।

यसैगरी, इमाडोलमा ३ सय मिटरमा ७० मिटर ग्याँस भेटिएको थियो । सरकारले २०४० सालमा टेकुमा मिथेन ग्याँस प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो । २०७२ सालमा भारतले नेपालमा अघोषित नाकाबन्दी गर्दा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले इमाडोलमा पानीबाट छुट्याएर राखिएको ग्याँसप्लान्टमा जोडिएको चुलोमा आगो बालेर परीक्षण गरेका थिए । राजधानी दैनिक