२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल क्षेत्रीय स्तरमै स्वतन्त्र मुलुक, जेन–जी आन्दोलनमा कुनै वैदेशिक हस्तक्षेप छैनः इयू राजदूत लोरेन्जो



अ+ अ-

काठमाडौँ। नेपालका लागि युरोपेली युनियन (ईयू) की राजदुत भेरोनिक लोरेन्जोले डिजिटल माध्यममा बढ्दो मिथ्या सूचना र लैङ्गिक हिंसाका चुनौतीका बाबजुद क्षेत्रीय सन्दर्भमा नेपाल एक स्वतन्त्र र आलोचनालाई स्वीकार गर्ने मुलुक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहसँगको मंगलवारको भेटपछि आयोजित पत्रकार सम्मेलनका क्रममा राजदूत लोरेन्जोले नेपालमा दुई तिहाइ बहुमतको सरकार र प्रधानमन्त्रीको व्यापक लोकप्रियताका बीच पनि सरकारका कतिपय नीतिहरूको आलोचनात्मक विश्लेषण हुनुले यहाँको अभिव्यक्ति स्वतन्त्रताको जीवन्ततालाई पुष्टि गरेको बताउनुभएको हो । यो नेपालको एक महत्वपूर्ण र मूल्यवान गुण भएको बताउनु भयो ।

उहाँले नेपालले आगामी दिनमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वातावरणलाई कायम राख्नेमा विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय ‘जेन–जी’ आन्दोलन र यसमा युरोपेली युनियनको वैदेशिक हस्तक्षेप रहेको भनी लगाइएका आरोपहरूलाई राजदूतले पूर्ण रूपमा खण्डन गर्नुभयो ।

उहाँले यस प्रकारका दाबीहरू सूचनालाई तोडमरोड गर्ने प्रयास मात्र भएको बताउनु भयो । ईयूले सञ्चालन गरिरहेको ‘युथ साउन्डिङ बोर्ड’ मार्फत युवाहरूको परामर्श लिने प्रक्रियालाई राजनीतिक हस्तक्षेप भन्नु निराधार रहेको उहाँको तर्क छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भइरहेको ईयूको कार्यक्रम र त्यसमा युवाहरूको सहभागिताको उदाहरण दिँदै राजदूतले स्थानीय सरकार र नागरिक समाजसँगको सहकार्यमा युवाहरूको दृष्टिकोण बुझ्नु पारस्परिक हितको विषय भएको बताउनु भयो ।

नेपालको अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नतिका विषयमा बोल्दै राजदूत लोरेन्जोले यो एक चुनौतीपूर्ण कदम रहेको स्वीकार गर्नुभयो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अध्ययनलाई उद्धृत गर्दै उहाँले स्तरोन्नतिपश्चात प्रतिष्पर्धात्मक क्षमता कम भएका क्षेत्रहरूमा १ लाख ३० हजारदेखि १ लाख ४० हजारसम्म रोजगारी गुम्न सक्ने जोखिम औंल्याउनु भयो ।

उहाँले स्तरोन्नति कहिले हुने भन्ने प्राविधिक विषयभन्दा पनि त्यसका लागि आवश्यक तयारी महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । वर्तमान सरकार यसबारे सचेत रहेको र आवश्यक गृहकार्य अघि बढाउनेमा ईयू विश्वस्त रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौंमा आवासीय दुतावास नभए पनि वैकल्पिक माध्यमबाट सेवा लिन सकिन्छः साइप्रसका राजदुत

भारतका लागि साइप्रसका राजदुत इभागोरस भ्रियोनाइड्सले नेपालमा साइप्रसको आवासीय दुतावास नभए पनि नेपाली नागरिकहरूले विभिन्न वैकल्पिक र कुटनीतिक माध्यमबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्नसक्ने बताउनु भयो ।

राजदुत भ्रियोनाइड्सकाअनुसार साइप्रसको जनसङ्ख्या करिव १० लाख मात्र रहेको र सीमित स्रोतसाधनका बाबजुद विश्वभर ६० वटा कुटनीतिक नियोगहरू सञ्चालनमा रहेका छन् । तीमध्ये आधाजसो नियोगहरूमा राजदूत मात्र कार्यरत रहेको जानकारी दिँदै उहाँले नयाँ दिल्लीस्थित दूतावासले नेपालसहित नौवटा मुलुकको कार्यक्षेत्र हेर्दै आएको प्रस्ट पार्नुभयो ।

नेपालमा दूतावासको अनुपस्थितिमा सेवाग्राहीहरूले सूचना वा अन्य कन्सुलर सेवाका लागि विभिन्न स्रोतहरू उपयोग गर्नसक्ने उहाँले बताउनु भयो ।

उहाँले साइप्रसमा पनि नेपालको अवैतनिक वाणिज्यदुतावास रहेको उल्लेख गर्दै सेवाग्राहीहरूलाई कुटनीतिक च्यानल, कन्सुलर च्यानल वा नयाँ दिल्लीस्थित नजिकको दूतावासमा सिधै सम्पर्क गर्न सुझाव दिनुभयो । यस व्यवस्थाले दूतावास नभएको अवस्थामा पनि द्विपक्षीय सम्पर्क र सेवा प्रवाहलाई सहज बनाउने उहाँको विश्वास छ ।

नेपालमा राजदुतावास स्थापनाका लागि पर्याप्त आधार निर्माण गर्नु प्राथमिक शर्तः स्वीडेन

नेपालका लागि स्वीडेनका गैरआवासीय राजदुत जान थेस्लेफले नेपालमा स्वीडेनी राजदुतावास स्थापनाका लागि दुई देशबीचको सहकार्य र पर्याप्त आधार निर्माण गर्नु प्राथमिक शर्त रहेको  बताउनु भयो ।

राजदुत थेस्लेफले कुनैपनि मुलुकमा राजदुतावास जस्तो भौतिक संरचना निर्माण गर्नुअघि त्यसलाई धान्न सक्ने ठोस आधार र सक्रियता आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले सहकार्यको आधार बलियो भएसँगै राजदुतावास स्थापनाको बाटो स्वतः खुल्ने बताउनु भयो ।

स्वीडेनले विशेषगरी विज्ञान, प्रविधि, र व्यावसायिक क्षेत्रमा नेपालसँगको साझेदारीलाई फराकिलो बनाउन चाहेको छ । राजदुत थेस्लेफले स्वीडेनी कम्पनीहरूलाई नेपालमा भित्र्याउने र नेपाली नवप्रवर्तनकारीहरूलाई स्वीडेनको बजारसम्म जोड्ने विषयमा स्वीडेन सकारात्मक रहेको बताउनु भयो ।

राजदूत थेस्लेफले संरचनाभन्दा पनि दुई देशबीचको सम्बन्धको गहिराइ र गुणस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल