७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण



अ+ अ-

कञ्चनपुर। धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ ।

शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।

हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको छ ।

शाखा प्रबन्धक हेमराज जोशीले सहकारीमार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मौज्दात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटाअन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको हो ।

“कार्यविधिअनुसार सहकारीले तोकिएको कोटाको मल दश दिनभित्र उठाइसक्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “निर्धारित समयमा मल नउठाउँदा गोदाममा मौज्दात रहन गएको छ ।”

उहाँका अनुसार गत साउनदेखि हालसम्म शाखाले युरियाको नौ कोटा र डिएपीको सात कोटा वितरण गरिसकेको छ । एक कोटा बराबर ५०० मेट्रिक टन मल हुने उहाँले जानकारी दिनुभयो । मौज्दात रहेको मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारण गरिदिन पत्राचार गरिएको उहाँले बताउनुभयो ।

“कोटा निर्धारणसम्बन्धी निर्णय आएपछि मौज्दात मल पुनः वितरणको प्रक्रिया सुरु गर्छौं,” प्रबन्धक जोशीले भन्नुभयो, “हाल मौज्दात रहेको मलले धान रोपाइँसम्म पुग्ने अनुमान गरेका छौँ । केही मल साल्ट ट्रेडिङसँग पनि उपलब्ध रहेकाले यस वर्ष धान खेतीका लागि मल अभाव नहुने विश्वास छ ।”

शाखाले आगामी आवश्यकतालाई दृष्टिगत गर्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ । “थप मल असारभित्र आइपुग्ने आश्वासन पाएका छौँ,” प्रबन्धक जोशीले भन्नुभयो ।

पछिल्ला वर्षमा खेतीको मुख्य समयमा रासायनिक मल अभाव हुने समस्या दोहोरिँदै आएको अवस्थामा यस वर्ष मौज्दात मलले किसानलाई केही राहत हुने भएको छ । रासस