७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति



अ+ अ-

पाँचथर। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गङ्गाप्रसादको ६ जनाको परिवार उहाँका दाजु दुर्गा बेघाको घरमा बसेको छ । सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।

बाढीपहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर जोखिममा छ ।

बाढीले लामिटारबाट चाम्लिङडाँडा जोडने झोलुङ्गे पुल र याङवरक–२ दोभानेसिथत झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । बाढीले निर्माणाधीन दुई सडकका पुल बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ दोभानेमा मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको हो । यहाँ निर्माणाधीन पुलका साथै सडक र डाइभर्सनसमेत बगाएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिनुभयो ।

त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचनासमेत बाढीले बगाएको छ । याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन, फलामे पाइपलगायत सामग्री बगाएको प्रहरी नायब उपरीक्षक कर्णले बताउनुभयो । पहिरो झरेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जलविद्युत् आयोजनाहरूमा क्षति

बाढी र पहिरोले याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोलामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । यस्तै पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

यस्तै याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ ।

बाढी र पहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिनुभयो । रासस