३१ श्रावण २०८३, आईतवार
,
Latest
भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ पहिरोमा परिएर एक जनाको मृत्यु निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनुशासन र नैतिक मूल्य मान्यता अहिलेको आवश्यकता हो’



अ+ अ-

काठमाडौँ। विभिन्न राजनीतिक दलका नेताहरूले अनुशासन र नैतिक मूल्य मान्यता विद्यमान समाजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट विसं २०८२ को माध्यामिक शिक्षा परिक्षा (एसइई) परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मानमा आज आयोजित कार्यक्रमका वक्ताहरूले अनुशासन र नैतिक शिक्षा वर्तमान आवश्यकता भएको बताउनुभएको हो ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विद्यार्थी नै मुलुकको भविष्य भएकाले उनीहरूलाई सामाजिक मूल्यका बारेमा पर्याप्त जानकारी दिनुका साथै अनुशासनमा राख्न जरुरी रहेको  बताउनुभयो । उहाँले शिक्षामा केवल किताबी ज्ञान मात्र नभई अनुशासन र नैतिक मूल्य मान्यताको पनि उत्तिकै महत्त्व हुने बताउनुभयो । नेता केसीले विद्यार्थीलाई जीवनको यो नयाँ खुट्किलोमा सही निर्णय लिन र आफ्नो रुचि अनुसारको विषय छनोट गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्रा स्मरण गर्दै विद्यार्थीलाई स्वदेशमै भविष्य खोज्न आग्रह गर्नुभयो । उहाँले विदेश पलायन हुने प्रवृत्तिको सट्टा नेपालमै बसेर कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले विद्यार्थीलाई पढाईसँगै सीप सिक्न र काम गर्ने बानी बसाल्न आग्रह गर्नुभयो । “पढाइसँगै सीप र काम गर्ने बानी बसाल्नुस्, यसले तपाईंलाई आर्थिक रूपमा मात्र होइन, अनुशासित पनि बनाउँछ,” उहाँले भन्नुभयो । नेपाली कांग्रेसका सांसद निश्कल राईले विद्यार्थीलाई राजनीतिक र सामाजिक रूपमा सचेत रहँदै देश विकासमा लाग्न आग्रह गर्नुभयो ।

परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले विद्यार्थीका लागि संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराउने बताउनुभयो । उहाँले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीका लागि विभिन्न ‘प्लस टू’ कलेजसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानिँया, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याललगायतले तीनै तहको सरकारले नेपालको शैक्षिक सुधारमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा यस वर्षको एसइईमा ४ जिपिए ल्याउने र अन्य विद्यार्थीलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो ।  रासस